Shittalpati
पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन

पाल्पा । पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी समायोजन भएको छ । केन्द्रमा दुई पार्टी बिच एकता भएपछि पाल्पामा पनि पार्टी समायोजन भएको हो । शनिबार तानसेनमा दुबै पार्टीको संयुक्त बैंठक बसी जिल्ला कार्यसमिति गठन भएको छ । रेवन्त बहादुर विष्टको अध्यक्षतामा ४१ सदस्यी कार्य समिति गठन भएको पार्टीका जिल्ला सदस्य तथा नेता देवेन्द्र बहादुर रायमाझीले बताए । उनका अनुसार उपाध्यक्षमा तेजप्रसाद (विष्णु)पाण्डे, सचिव हरि प्रसाद बस्याल,कोषध्यक्ष इश्वरी प्रसाद खनाल र सह सचिवमा कपिल ढङ्गाना रहेका छन् ।

बैठकमा राप्रपाका केन्द्रिय सदस्य डुल बहादुर कुंवरले पार्टीलाई वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउन र हिन्दु धर्मको पक्षमा मुख्य एजेण्डा लिएर देशमा भएको भ्रष्टाचार, विसंगतीको अन्त्यका लागि पार्टी एक ढिक्का भएर लाग्ने बताए । उनले जिल्लाको समितिलाई समाज रुपान्तरणमा सशक्त ढंगले लाग्न पनि आग्रह गरे । बैंठकले प्रदेश पाँचको राजधानी बुटवलमै राख्न पार्टीले पहल गर्ने, हिन्दुहरुका महानचाडपर्वहरु नजिकिएकाले पहिरोका कारण अवरुद्ध बुटवल–तानसेन सडक, ग्रामीण क्षेत्रका सडकहरु तत्काल मर्मत गरी यातायात सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, कोरोना महामारी नियन्त्रणमा सजगता अपनाउन आमनागरिकलाई आग्रह गर्ने लगायतका निर्णय गरेको छ ।

यस अघि हिन्दु राष्ट्रलाई एकीकरणको बटमलाइन बनाउने सहमतिका साथ केन्द्रमा दुई पार्टीले एकता गरेका थिए । सोही अनुसार जिल्लामा पार्टी समायोजना गरिएको हो । नयाँ संविधान घोषणा हुने क्रममा राप्रपाले धर्मनिरपेक्षता स्वीकारेको थियो भने राप्रपा नेपालले गणतान्त्रिक आन्दोलनदेखि नै हिन्दु धर्मको वकालत गर्दै आएको थियो । पछिल्लो समयमा राप्रपाभित्रैबाट पार्टीले हिन्दु राष्ट्रलाई बटमलाइन बनाउनुपर्ने दबाब बढेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update