Shittalpati
पाल्पामा काँग्रेस खोज्दै सिंगो गाउँ नै पार्टी कार्यालय आएपछि ...

पाल्पा । ‘हेलो सरकार, हजुर भन्नुहोस् । को बोल्नु भयो, हजुर म पाल्पाको बगनासकालीबाट बोलेको म सरकार पक्षको मान्छे हूँ, यहाँ काँग्रेसले आज भेला गर्दैछ । यस्तो महामारीका बेला कार्यक्रम गर्न दिनु भएन् । स्थानीय प्रशासनमा पनि फोन गरेका छौं, त्यहाँबाट प्रमुख जिल्ला अधिकारीलाई रोक्न लगाउनु पर्ने भो ।’ यति भनेर फोन काटियो ।

माथिको संवाद कुनै कथाको पात्रले गरेको काल्पनीक होइन्, यो संवाद, बगनासकाली गाउँपालिका वडा ६ को भुटुकेका १४ घर परिवार नेकपा त्यागेर, काँग्रेसमा प्रवेश गर्ने कुराको जानकारी पाए पछि केही अज्ञात व्यक्तिहरुले प्रधानमन्त्रीको कार्यालय हेलो सरकारमा फोन गरेर गुनासो गरेको वास्तवितालाई उजागर गर्न खोजिएको हो । नेकपाका स्थानीय सर्मथकहरुको बाहुल्यता रहेको यम्घाको भुटुके र आसपासका बासिन्दाहरु १४ घर परिवारबाट नेकपा परित्याग गरेर काँग्रेस प्रवेश गर्दैछन् भन्ने हल्लाले पाल्पा जिल्लालाई मजैसँग ततायो ।

उनीहरुको प्रवेश कार्यक्रमलाई रोक्ने प्रयास स्वरुप, जिल्ला प्रशासन कार्यालय पाल्पामा समेत बारम्वार फोन गरेर गुनासो गर्दै कार्यक्रम रोक्न दवाब दिईयो । फल स्वरुप कार्यक्रमको स्वरुप फेरियो, प्रवेश गर्ने इच्छा भएका स्थानीयहरुको एक लर्कन, शनिबार दिउँसो जिल्ला सद्रमुकाम स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमै आएर आफुहरु दवाबका बावजुद पनि नेकपा परित्याग गरेको घोषणा गर्दै पार्टी सभापति बीरबहादुर रानाको हातबाट नेपाली काँग्रेसको साधारण सदस्यता लिएरै छोडे ।

बगनासकाली गाउँपालिका वडा ६ का वडाअध्यक्ष लक्ष्मी अधिकारी, गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालको उपस्थितिमा नवप्रवेशीहरुलाई सम्वोधन गर्दै पार्टी सभापति बीरबहादुर रानाले, आफुलाई मन नपर्ने विचारलाई त्यागेर मनपर्ने विचारमा समाहित हुन खोज्नेलाई राज्यसत्ताको प्रयोग गरेर रोक्न खोज्ने कार्य आफैमा अलोकतान्त्रिक भएको बताए । उनले भने, ‘अभिव्यक्ति तथा विचारको स्वतन्त्रता माथि बन्देज लगाउँन राज्यसत्ताको प्रयोग गर्ने कार्य गलत हो ।’ प्रदेश पाँचका सांसद समेत रहेका रानाले, वर्तमान असहज अवस्था प्रति काँग्रेस सचेत छ, हामी यो कोभिड १९ ले सिर्जना गरेको परिस्थितिका बारेमा सचेत छौं, तर केही साथीहरु सामाजिक दुरी कायम गरेर पार्टी प्रवेश गर्न खोज्दा नानाथरीका प्रपोगण्डा गर्दै प्रशासनलाई प्रयोग गरेर रोक्न खोज्ने काम आफैमा गलत हो भन्ने कुरा जनताले बुझेका छन् । नवप्रवेशीहरुले, आफुहरुलाई सधै झुट्टा आस्वासन मात्रै दिने गरेका कारण नेकपा परित्याग गरेर काँग्रेस प्रवेश गरेको बताएका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update