Shittalpati
रहेनन् नेपाली काँग्रेसका पूर्वसांसद कार्की

पाल्पा, नेपाली काँग्रेसका पूर्वसांसद तथा काँग्रेस पाल्पाका पूर्व सभापति गम्भीरजंग कार्कीको निधन भएको छ । ७६ वर्षीय कार्कीको उपचारका क्रममा काठमाडौंमा शनिबार राति निधन भएको हो । उनले लामो समयदेखि उच्च रक्तचाप, मृृगौला,मधुमेह जस्ता रोगको उपचार गराउदै आएका थिए । कर्की रम्भा गाउँपालिका–५, ताँहू स्थायी घरभई तानसेन आँपटारी बस्दै आएका थिए । २०४८ सालमा उनी पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निवार्चित भएका थिए ।

२०५१ देखि २०५६ सालसम्म काँंग्रेस जिल्ला सभापति भएका कार्कीले जिल्लाको राजनितिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनले अत्यन्तै सरल,संगठनमा क्रियाशिल, मृदुभाषी व्यक्तित्वका रुपमा छवि बनाएका थिए । कार्कीको निधनले जिल्लाको सिंगो राजनितिक क्षेत्रमा अतुलनिय क्षति पुगेको नेपाली काँगे्रसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले बताए ।

राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा लालटिन चुनाव चिन्ह लिएर चुनाव लडेका कार्की २०४३ सालमा विजयी भएका थिए । उनको आज आईतबार पशुपति आर्यघाटमा हिन्दु परम्परागत अनुसार अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको नेपाली काँग्रेस पाल्पाले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  २३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update