Shittalpati
काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिकामा आइतबार हुन लागेको आप्रवासन (सामी) परियोजनाको परीक्षा स्थगित भएको छ । नेपाल सरकार र स्वीस सरकारको संयुक्त सहयोगमा सञ्चालन हुन लागेको सामी परियोजनाको कर्मचारी भर्नाका लागि हुन लागेको परीक्षा नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको हो । सामी परियोजना कार्यक्रममा नगरपालिकाले एकलौटी रुपमा कार्यक्रम अगाडि बढाएको भन्दै नेपाली काँग्रेसले विरोध गर्दै आएको थियो । काँग्रेसको विरोधपछि अन्ततः परीक्षा स्थगित भएको हो । कर्मचारी आवेदन सूचनालाई गोप्यमा राख्ने, पर्याप्त दरखास्त पर्ने वातावरण विपरित कार्य गरी आ–आफ्ना कार्यकर्ता भर्ना गर्ने उद्देश्यका साथ नाम सुचिकृत गरी गर्न लागिएको भन्दै परीक्षा तत्काल स्थगितका लागि काँग्रेस गुल्मी र रेसुङ्गा नगर समितिले आन्दोलन गर्दै आएको थियो ।

अन्तिम समयमा आए एक सूचना जारी गर्दै असहज परिस्थितिका कारण अर्को सूचना नभए सम्मका लागि परीक्षा स्थगित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनीले जानकारी दिए । परियोजनाका लागि रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका र ईस्मा गाउँपालिकाका लागि कर्मचारी छनौटका लागि गर्न लागिएको परीक्षा अन्तिम समयमा आएर असहज परिस्थितिको कारण जनाउँदै स्थगति गरेको उनले बताए । रेसुङ्गा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले आफूहरुले नियम संगत २०७६ फागुन १२ गते सूचना प्रकाशन गरी आवेदन माग गरिएको र सोही अनुसार छोटो सूचीमा नाम प्रकाशन गरिएको बताए । आइतबार दिनभर नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले रेसुङ्गा नगरपालिकामा धर्नासँगै विरोध प्रर्दशन गरेको थियो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला उपसभापति विष्णुप्रसाद बलालले नगरपालिकाले सुचनालाई गोप्य राखी आफ्ना कार्यकर्ता भर्ती गर्नेतर्फ केन्द्रित देखिएको आरोप लगाए । उनले नगरपालिकामा नीतिगत भ्रष्टाचार मौलाउँदै गएको उल्लेख गरे ।

यसअघि नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले ज्ञापनपत्रमार्फत परीक्षा तत्काल रोक्न ध्यानकर्षण गराए पनि आफुहरुको मागलाई वेवास्ता गरेकाले आन्दोलित हुनु परेको नगर सभापति छवि पाण्डेले बताए । उनले पुनः विज्ञापन गरी परीक्षा सञ्चालन गर्नुपर्ने आफुहरुको माग रहेको बताए । जिल्लाका ४ वटा स्थानीय तहमा यो कार्यक्रम लागु हुने भएकाले यो कार्यक्रमको संयोजन रेसुंगा नगरपालकाले गरेको छ । रेसुा, मुसिकोट नगरपालिका, ईस्मा र छत्रकोट गाउँपालिकाका २४ जना कर्मचारी छनौटका लागि आइतबार परीक्षा तोकिएको थियो । बैशाखमा गर्ने भनिएको परीक्षा लकडाउनका कारण हुन नसकेको र असार २७ गतेका लागि तोकिएको परीक्षा वर्षात्का कारण सञ्चालन गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update