Shittalpati
नेपालले भारतसँग मित्रता चाहेको छ : मन्त्री ज्ञवाली

रमेश विश्वकर्मा
गुल्मी, परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपालले भारतसँग मित्रता चाहेको बताएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालयमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाललाई कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पिसिआर मेसिन हस्तान्तरण गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । नेपाल र भारतबीच भएको सीमा विवादलाई लिएर मन्त्री ज्ञवालीले नेपालले भारतसँग मित्रता चाहेको तर त्यो मित्रता सार्वभौम समानता सहितको मित्रता हुनुपर्ने उल्लेख गरे । समस्याहरु राखेर मित्रता दरो हुन नसक्ने भन्दै मन्त्री ज्ञवालीले भने ‘अगाडि बढ्न जुत्ताभित्र अड्किएका ढुङ्गाका टुक्राहरुलाई निकालेर फाल्नुपर्छ । यस्ता समस्याहरु रहँदासम्म नेपाल–भारतको सहयात्रा, मित्रता सही ढङ्गले अगाडि बढ्न सक्दैन ।’ सरकारले पछिल्लो समय ठूलो साहसिक कदम लिएको भन्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी नयाँ नक्सा जारी गर्नु अभुतपूर्व राष्ट्रिय एकता कायम भएको उल्लेख गरे । सरकार सत्यको पक्षमा रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले एक इन्च पनि अरु कसैको जमिन नलिने तर पूर्खाहरुले लडेर बचाँएको जमिन एक इन्च पनि छोड्न नसक्ने बताए ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य समेत रहेका ज्ञवालीले नेकपा घरको धुरी भएको बताए । धुरी खाबो कमजोर भए घरकै अस्तित्व माथि जोखिम पैदा हुने उनले धारणा व्यक्त गरे । सक्तारुढ पार्टी नेकपामा पछिल्लो समय देखिएको आन्तरिक मनमुटावलाई लिएर नेकपामा विग्रह आउँछ, दुर्घटनामा जान्छ भनेर कसैले परिकल्पना गरे ति दुई वटै कुरा गलत सावित हुने मन्त्री ज्ञवालीले बताए । उनले देश अहिले कोभिड–१९ सँग जुधिरहेको उल्लेख गर्दै सरकारले उच्च सतर्कता अपनाई रहेको बताए । जिल्लामा पि.सि.आर मेसिन उपलब्ध भएकाले यसको सहि सदुपयोग गर्न उनले आग्रह गरे । विपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा, हिमालयन एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठले उपलब्ध गराएका पि.सि.आर मेसिन हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update