Shittalpati
सत्तारुढ दलका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निराश : सभापति राना

पाल्पा(रामपुर) । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश ५ का प्रदेश सांसद बीरबहादुर रानाले सत्तारुढ दल नेकपाका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निरास छाएको बताएका छन् । नेपाली काँग्रेस रामपुरनगर समितिको आयोजनमा भएको पार्टीका अगुवा कार्यकर्ता तथा जनप्रतिनिधीहरु बीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रानाले मुलुक भित्र हाल देखा परेको राजनैतिक अस्थिरता र सत्तारुढदलका कतिपय नेताहरु बीचको आन्तरिक द्वन्द्वले जनतामा नैरास्यता छाएको बताएका हुन् । सभापति रानाले सरकारको अवस्था यस्तै हुने हो भने, यसका कारण गम्भीर समस्या आउँने संकेत देखिएको बताएका छन् । प्रमुख अतिथि रानाले बहुमतको वर्तमान सरकारले जनताले गरेका आशा र विश्वासमाथि कुठाराघात गरेको आरोप लगाउँदै, प्रदेश पाँचको प्रदेशसरकारले पनि सोंचे अनुरुप काम गर्न नसकेको र पार्टीकेन्द्रको विवादमा रुमलिने बाहेक केही गर्न नसकेको समेत आरोप लगाए । उनले प्रदेश होस या संघीय सरकार, नेकपा भित्रको विवादले गर्दा विकासका काम जुनरुपमा हुनुपर्ने हो, सो अनुरुप हुन नसकको बताए ।

नेपाली काँग्रेसका जिल्ला उपसभापति देवराज ढकालले सरकारले जनताका समस्याहरु प्रति वेवास्ता गरेको आरोप लगाउँदै वहुमत प्राप्त सरकारको यो गति लाजमर्दो भएको धारणा व्यक्त गरे । रामपुर नगरपालिकाका नगर प्रमुख तथा नेपाली काँग्रेस महासमिति सदस्य रमण बहादुर थापाले रामपुर नगरपालिकाले आफ्नो न्यून स्रोत र साधनको अधिकतम प्रयोग गरेर जनताका आवश्यकता परिपूर्ति गर्ने काममा लागि परे पनि प्रदेश र संघीय सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाए । रामपुर नगरपालिकाकी उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले, विकास निर्माणका साथै नगरवासीका हरेक समस्याहरुको समाधानमा नगर सरकारले महत्वपूर्ण काम गरेको बताईन् । कार्यक्रममा नगरकार्य पालिका सदस्यहरु, पार्टीका वडासभापतिहरु, महिला नेतृ तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम नगरसभापति नेत्रप्रसाद भट्टराईको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update