Shittalpati
प्रधानमन्त्रीलाई ट्रेड युनियन काँग्रेस  पाल्पाको ध्यानाकर्षण

पाल्पा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्रमिकका समस्याका विषयमा ध्यानाकर्षण गराएको छ । युनियनले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे मार्फत प्राधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । बन्दाबन्दीका कारण आयस्रोत गुमाएका उद्योग, व्यापार, व्यवसायमा कार्यरत मजदुर श्रम गरेर खाने वर्ग, अपाङ्ग र गरिबीको रेखामुनि रहेका नागरिकहरुलाई जिवीकोपार्जनमा समस्या उत्पन्न भएको भन्दै उनीहरुलाई तत्काल राहतको व्यवस्था मिलाउन सहायक प्रजिअमार्फत प्रधानमन्त्रीको ध्यानकर्षण गराइएको युनियनका अध्यक्ष लक्ष्मण रायमाझीले बताए ।

बन्दाबन्दीका कारण सैलुन व्यवसाय गरेका सैनुन सञ्चालक र सैलुनमा कार्यरत श्रमिकहरुको आर्थिक अवस्था दिनप्रतिदिन कष्टकर बन्दै गएको, कतिपय सामुदायिक विद्यालयहरुमा कार्यरत नीजि शिक्षक तथा कर्मचारीहरुको बन्दाबन्दी अवस्थाको पारिश्रमीक नदिइने, होटलमा काम गर्ने श्रमिकहरुको बन्दाबन्दी समयको पारिश्रमिक र पेशाको सुरक्षा नभएको, यातायात मजदुरहरुको दैनिक जीवन थप कष्टकर बन्दै गएकाले उनीहरुको उचित व्यवस्था गरी राहत दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उक्त ज्ञापन पत्र युनियनका सचिव टुनविर रेस्मीले पढेर सुनाएका थिए । त्यस्तै नाई संघले पनि प्राधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । संघका कार्यवाहक अध्यक्ष कमलेश ठाकुरद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सुरक्षाको सावधानी अपनाई व्यवसायी सञ्चालन गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ बंजाडेले ज्ञापनपत्र जस्ताको तस्तै तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाइदिने बताईन् ।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update