Shittalpati
सरकार नागरिकप्रति संवेदनशील छ : प्रधानमन्त्री ओली

हाम्रा संवाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति संवेदनशील रहेको बताएका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै ओलीले कोरोना महामारीका कारण कुनै पनि नागरिक रोग र भोकबाट समस्यामा नपर्ने र त्यसका लागि सरकार संवेदनशील रहेको बताएका हुन् ।

यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको उनले बताए । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको समेत प्रधानमन्त्रीले ओलीले बताए । उनले भने ‘हामीले अझै केही समय कोरोनाको युद्दसँग लड्नुपर्ने देखिएको छ ।’ क्वारेन्टाइन थप व्यवस्थित बनाउँदै लैजाने पनि उनको भनाइ छ । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोनाविरुद्ध लडिरहेको प्रधानमन्त्रीले बताए । सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको उनले जानकारी दिए । उनले जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने बताए । प्रधानमन्त्री ओलीले भने,‘यो संक्रमण अझै केही समय रहने हुँदा अहिले सबै मिलेर लाग्दा मात्रै महामारीलाई जित्न सकिन्छ ।’ओलीले कोरोना भाइरसलाई नेपाल र नेपालीले पराजित गर्नेमा समेत विश्वास व्यक्त गरे । उनले नेपालीहरूको मनोबल उच्च छ र प्रतिरोध क्षमता पनि असाधारण रहेकोले कोरोना पराजित हुने बताए । ‘महामारीलाई सरकारले अघि सारेका विभिन्न उपायहरूसहित आफ्नो उच्च मनोबल र प्रतिरोध क्षमताका साथ पराजित गर्नेछौं भन्ने मैले विश्वास लिएको छु’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने ।

यस्तै उनले विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा उद्दार गर्ने पनि बताएका छन् । मुलुकबाहिरबाट नेपाली फर्कने क्रम बढेको उल्लेख गर्दै धेरै देशहरुसँग आफूले कुरा गरेको भन्दै ती देशमा रहेका नेपालीबारे ढुक्क हुन भनेकोले आफू आस्वस्त रहेको प्रमले उल्लेख गरे । यसैगरी प्रम ओलीले कूल जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना परीक्षण गर्ने सरकारको योजना रहेको पनि बताएका छन् । ओलीले सातै वटा प्रदेशमा २० वटा भन्दा बढी प्रयोगशालाबाट हाल परीक्षण भइरहेको बताउँदै सरकारले परीक्षणको दायरालाई फराकिलो बनाएको बताए । उनले महामारी फैलिन नदिन संक्रमित भेटिएको स्थानलाई सिल गरेर परीक्षणलाई तीव्र पारिने पनि बताए । प्रम ओलीले कोरोना महामारीका विरुद्ध सरकारले हालसम्म चालेका कदम र आगामी योजना केन्द्रित सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ००:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update