Shittalpati
गुल्मी काँग्रेसद्वारा भारतमा रहेका नागरिक प्रति चासो

रमेश विश्वकर्मा

गुल्मी । नेपाली काँग्रेस गुल्मीले भारत रहेका नागरिक प्रति चासो देखाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण उत्तरभारत क्षेत्र लगायत देश विदेशका विभिन्न स्थानमा रहेका नागरिकहरुप्रति गुल्मी काँग्रेसले चासो देखाएको हो । कोरोना भाइरसको कारण विभिन्न स्थानमा रहेका गुल्मीवासीको असुविधा प्रति नेपाली काँग्रेस गुल्मीको गम्भीर ध्यानार्षण भएको बताईएको छ । गुल्मी काँग्रेसले आइतबार एक विज्ञप्ती जारी गर्दै रोजगार तथा अध्ययनका शिलशिलामा उत्तरभारत लगायत अन्य क्षेत्रमा रहेका गुल्मीवासीहरु विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रकोपका कारण समस्यामा परेको प्रति गम्भीर भएको जनाएको छ ।

सभापति भुवनप्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तीमा विदेशका विभिन्न स्थानमा दुःख पाईरहेका नेपालीहरुलाई बिना सर्त स्वदेश ल्याउने प्रबन्ध मिलाउन नेपाल सरकारसँग माग गरिएको छ । यस्तो विषम परिस्थितीमा नेपाली काँग्रेस सहयोगी बन्न तयार रहेको सभापति श्रेष्ठले बताए । उनले, ‘यो भयावह प्रकोपबाट हामीले मुक्ती पाउने भनेकै लकडाउनलाई पूर्णरुपमा पालना गर्दै हाम्रो दैनिक जीवनलाई व्यवस्थित गर्नु हो ।’ लकडाउन अवधी लम्बिएसँगै दैनिक जिवनमा आईपर्ने समस्या पनि विकराल बन्दै जानु स्वाभाविकै हो । त्यसैले कुनै कारण वस उत्तरभारत क्षेत्रमा रहन समस्या हुनेहरुका लागि स्वदेशमा आउन कुनै कठिनाई नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यात्रुको सामान्य स्वास्थ्य चेकजाँच भै आवश्यक लागेमा तोकिएको क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन गुल्मी काँग्रेसले आम नागरिकलाई आग्रह गरेको छ । उत्तरभारत क्षेत्रमा रहँदा खर्च अभावमा खाद्यान्नको समस्या परेका गुल्मीवासीको सन्दर्भमा नेपाली काँग्रेस जनसम्पर्क समिति भारतका अध्यक्ष तथा नेपाली काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे (९९५८३२२५३९) र नेपाली काँग्रेस उत्तरभारत क्षेत्र जनसम्पर्क समिति अध्यक्ष तथा नेपाली काँग्रेस गुल्मी आमन्त्रित जिल्ला सदस्य सुनिता जिसी कुँवर (८८२६७५५०४७) लाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

नेपाली काँग्रेस गुल्मीको जनसम्पर्क समितिसँग आपसी समन्वय भइरहेको सभापति श्रेष्ठले बताए । गुल्मी काँग्रेसको निर्देशनमा यस अघि नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा खाद्यान्नको समस्यामा परेका गुल्मीबासीहरुलाई पनि राहत वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update