Shittalpati
लुम्बिनी प्रदेश : आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै, कुन दलको कस्तो अवस्था ?

रामचन्द्र रायमाझी
पाल्पा, राष्ट्रियसभा सदस्यका लागि आज लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदै छ । गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।

मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा मतदान केन्द्र बनाइएको छ । बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको कुँवरले एनजेडीलाई जानकारी दिए । राष्ट्रियसभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका तीन जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । सत्तारूढ एमालेबाट कुमार दसौदी, प्रमुख प्रतिपक्षी काँग्रेसबाट माधवप्रसाद आचार्य, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय चुनावी मैदानमा छन् । एमालेका दसौदी र काँग्रेसका आचार्य दुवै रोल्पाका हुन् । निर्वाचन कार्यालयले आचार्यलाई रुख, दसौदीलाई सुर्य र रायलाई ढकिया चुनाव चिन्ह प्रदान गरिसकेको छ । उपनिर्वाचनमा सत्तापक्ष र विपक्षी दलका उम्मेदवारले आ–आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । यहाँ मुख्यमन्त्री एमालेका लीला गिरीले प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्रसहित ५८ जनाको समर्थनमा पुस २८ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर आजको निर्वाचनमा मत क्रस हुने दाबी विपक्षी दल काँग्रेसको छ । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । मदानका लागि मंगबार नै प्रदेश सभा सदस्य र अधिकांस जिल्लाका स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरु दाङ पुुगी सकेका छन् । निर्वाचनलाई शान्त, मर्यादित र निष्पक्ष बनाउने काममा निर्वाचन कार्यालय सक्रिय भएर लागेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले एनजेडीसँगको कुुराकानीमा बताए । उनका अनुसार मतगणना सकिएको एक÷डेढ घण्टाभित्रै परिणाम सार्वजनिक गरिने छ । ‘मतगणना सकिनासाथ तत्कालै गणना सुरू गर्ने तयारी गरिएको छ, बढीमा डेढ घण्टामा नजिता सार्वजनिक गरिसकिने छ’ सूूचना अधिकारी कुंवरले भने ।
यस्तो छ अंक गणित
प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ जना रहेका छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २ सय १८ रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुनेछ । मतभार अनुरुप ८७ प्रदेशसभा सदस्यको ४ हजार एक सय ७६ र स्थानीय तहतर्फका २ सय १८ जनाको ३ हजार ९ सय २४ गरी कुल ८ हजार एक सय मत संख्या छ । प्रदेशमा कुल १ सय ९ पालिकाहरु रहेका छन् । तीमध्ये काँग्रेसले ४८ पालिकामा जितेको छ । एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २÷२ तथा राप्रपा र जनता प्रगतिशीलले १÷१ स्थानमा जितेका छन् । ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, काँग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४÷४, जसपा, लोसपा र जनमतले ३÷३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १÷१ सिट जितेका छन् । यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन् । तीन जनाले जिते पनि फेरि एक जना माओवादी केन्द्रमै फर्किएका छन् । यहाँ आफुहरुसँग स्पष्ट बहुमत रहेको सत्ता गठबन्धन एमालेको दाबी छ भने काँग्रेसले माओवादी, स्वतन्त्र र अन्य साना दलले आफूलाई साथ दिने भन्दै जित सुनिश्चित रहेको दाबी गरेको छ । काँग्रेसले केही मत फ्लोर क्रसबाट आउने आंकलन गरेकाले पनि जितको दाबी गरेको हो । पछिल्लो समय केन्द्रीय राजनीतिक कोर्समा समेत केही परिवर्तन देखा परेकाले पनि काँग्रेसलाई माओवादीको मत जान सक्ने पनि धेरैले विश्लेषण गरेका छन् । तर सत्ता गठबन्धनबाट एमालेको स्पष्ट मत रहेकोले आफ्नो उम्मेदवारको जित सहजै रहेको एमालेको दावी छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update