Shittalpati
राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौँ, (रासस), राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत यसमा स्पष्ट हुनुपर्ने बताए । उनले सबै प्रकारका आयोजनालाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारकातर्फबाट अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने र विधेयकमा यससम्बन्धी प्रावधान राख्नुपर्नेमा जोड दिए ।
सांसद देवकोटाले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले विकास आयोजनाको प्रभावकारी अनुमगन र मूल्याङ्कन हुन नसक्दा अपेक्षित लाभ हुन नसकेका सन्दर्भमा आमचासोलाई सम्बोधन गर्दै सरकारले यस विधेयकलाई अगाडि बढाइएको बताए ।
यस्तै बैठकले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ सर्वसहमतिले पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको तर्फबाट मन्त्री शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सर्वमम्मतिले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरे । राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार ५ बजे बस्नेछ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update