Shittalpati
रवि लामिछानेले लिए पुनः नागरिकता

पाल्पा, रवि लामिछानेले नेपाली नागरिकता पुनः लिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएका हन् । साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका छन् । सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो ।

काठमाडौं प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो । यसअघि नेपालमा नागरिकता लिए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका लामिछाने गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए । त्यसपछि उनी यतै बसे । ०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका उनले ०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए । तर‚ नेपाली नागरिकताको पुनः प्राप्तिको प्रक्रिया पूरा गरेका थिएनन् । कानुनबमोजिम त्यसबेला नै अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्नेमा लामिछानेले त्यो प्रक्रिया पूरा नगरी पुरानो नागरिकता प्रयोग गर्दै आएका थिए । त्यही नागरिकता प्रयोग गरेर उनले गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका थिए भने चितवन–२ बाट चुनाव जितेर सांसद र गृहमन्त्रीसमेत बनेका थिए । तर, उनको नागरिकताको विषयमा सर्वोच्च अदालतमा रिट परेपछि अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी पदमुक्त हुने फैसला गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update