सुष्मालाई बक्सिङमा रजत पदक
स्वास्थ्य
पाल्पामा बिहे भोजमा प्रयोग गरिएको पानीमा भेटियो ‘कोलिफर्म’
.jpg)
रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य कार्यालय पाल्पाको प्रयोगशालामा बिहेमा प्रयोग गरिएको पानी परीक्षण गर्दा कोलिफर्म ब्याक्टेरिया फेला परेको पाइएको हो ।
बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले पुष्टि गरेको छ । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताए । उनका अनुुसार ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको हो । कोलिफर्म ब्याक्टेरियाकै कारण झाडापखाल भएको हो भन्न नसकिने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । उनले भने,‘झाडापखाला अन्य कारणले पनि हुन सक्छ, तर अहिले नै कोलिफर्मकै कारण हो भन्न सकिदैन, यो अध्ययनकै क्रममा रहेको छ , मात्र के भन्न सकिन्छ भने प्रयोग गरिएको पानी दूषित हो ।’
पानीमा देखिएको कोलिफर्म झाडापखालाको एउटा इन्डिकेटर मात्र हो तर यो नै यसको कारण भने हुुन नसक्ने गिरीको भनाई छ । कोलिफर्म ब्याक्टेरिया दिशामा पाइने जीवाणु हो । पानीमा कसरी दिशाका जीवाणु मिश्रण भयो भन्ने यकिन भने हुुन सकेको छैन । झाडापखाला फैलिनुको अन्य पनि कारण हुन सक्ने भएकाले आवश्यक अनुसन्धानका लागि थप नमुनाको परीक्षण भइरहेको प्रमुख डा. गिरीले बताए । गत शनिबार घोरबन्दाका स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका एक सय ८० जना विरामी भएका थिए । चिर्तु·धाराका एक सय ३५ र प्यूठानबाट जन्ती आएका ४५ जना बिरामी भएको बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बताए । गाउँलेले ड्रमा राखिएको पानीसँगै भोजमा बटुक, पाडा (राँगो) को मासु, पुलाउ, आलु, गोभीको तरकारी, मेवाको अचार, आलु मुलाको अचार खाएका थिए । भोज आएका अधिकांसमा झाडापखालाको समस्या देखिएको थियो । उनीहरुमा सामन्य ज्वरो आउँने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले अहिले बिरामीको गाउँमै उपचार र परामर्श दिइरहेको छ ।
डा. सहितको स्वास्थ्यकर्मीले घर–घरमा पुगेर बिरामीहरुको चेक जाँच गरी आवश्यक औषधी दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिए । बिरामीहरु मध्ये ३८ जना पुुरुष र ६३ जना महिला रहेका छन् । जसमा १८ वर्ष भन्दा मुनिका १७ जना, ५ वर्ष मुनिका १ जना, १८ वर्षका १७ जना र १८ वर्ष भन्दा माथिका ६६ जना रहेका छन् । प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती आएका थिए । जन्ती आएका एकै गाउँका ४५ जना पनि बिरामी परेका छन् । बेहुला बेहुलीसहित ४५ जना बिरामी भएका हुन् । यस्तै बगनासकाली गाउँपालिकाले बिरामी सबैको उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बिरामी सबैको औषधी उपचारमा लाग्ने खर्च र औधषीको व्यवस्था पालिकाले गर्ने बताए । उनले भने,‘घरमा रहेका र अस्पतालमा उपचार गराइरहेका सबै विरामीको खर्चपालिकाले व्यहोर्ने निर्णय भएको छ ।’ अहिले बिरामी परेकाको स्वास्थ्यअवस्था सुधार हुँदै गएको छ ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!