Shittalpati
पाल्पामा बिहे भोज खाएपछि सिंगो गाउँका नै विरामी

पाल्पा, जिल्लाको एक गाउँमा बिहेको भोज खाएपछि सबै जना विरामी भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा शनिबार बिहे भोज खाएका एकै गाउँका एक सय भन्दा बढी व्यक्ति विरामी परेका हुन् ।

चिर्तुङधाराका दानबहादुर गाहाको छोरीको बिहेमा गएर भोज खाएका बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका एक सय भन्दा भन्दा बढी व्यक्ति बिरामी परेका छन् । उनीहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनेलगायतका समस्या देखिएको छ ।

अधिकांशलाई स्थानीय स्वास्थ्यचौकीबाट औषधि उपचार गरे पनि ठिक नभएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पुुर्‍याइएको थियो । कतिपयले आइतबार खप्न सकिन्छ कि भन्ने भएपनि सोमबार भने अधिकांश बिरामी आत्तिएर अस्पताल पुगेका थिए । मिसन अस्पतालका अनुसार सोमबार २२ जना बिरामी उपचारका लागि आएका थिए । त्यसमध्ये चार जनालाई भर्ना लिएर उपचार गर्नु परेको छ । अस्पतालका प्रमुुख प्रशासकिय अधिकृत जीवन भट्टराईका अनुसार सबै बिरामी खतरामुक्त भएपछि घर पठाइएको छ ।

घरमा रहेका विरामीहरुलाई अहिले गाउँपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले उपचार र परामर्श गरिरहेको छ । घर–घरमा पुगेर उपचारको व्यवस्था गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । उनका अनुुसार विरामी मध्ये अधिकांसमा झाडापखलाको समस्या देखिएको र सबै विरामीहरुको चेंक जाँच भइरहेको छ । उनका अनुसार बिहे भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेकाले समस्या आएको छ । ‘कतिपय घरमै सहेर, खटाएर पनि बसेका छन्,’ उनले भने, ‘घरका प्रायः सबैजसो बिरामी भएको अवस्था छ । कतिपयले सहनै नसक्ने भएपछि मात्र बिरामीहरु अस्पताल गएका हुन् ।’ के कारणले ‘फुड पोइजन’ भयो भन्ने अनुमानसमेत गर्न नसकेकिएको प्रमुख अधिकारीले बताए । स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्य शाखाको पहलमा पानीको परीक्षण गर्ने तयारी पनि गरिएको ल्याब टेक्निसिएन मधुसूधन भट्टराईले जानकारी दिए । यहाँ प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती आएका थिए । जन्ती आएका एकै गाउँका ४५ जना पनि बिरामी परेका छन् । बेहुला बेहुलीसहित ४५ जना बिरामी छन् । प्युठान अस्पतालका अनुसार अहिले अधिकशको अवस्था समान्य छ ।

तस्वीर : पाल्पाको चिर्तुङ्गधारामा विरामीको अवस्था बुुझ्दै स्वास्थ्यकर्मी ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update