Shittalpati
पाल्पामा डेंगुको महामारी, एकको मृत्यु, एक सय २१ विरामी

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा डेंगुले महामारीको रूप लिएको छ । साउनको पहिलो सातादेखि फाटफुट्ट देखिएको डेंगु अहिले महामारीको रूपमा देखा पर्न थालेको हो । साउन महिनामा मात्र २३ जनामा देखिएको डेंगुको संक्रमण अहिले १ सय २१ जनामा पुगेको छ । एक जनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु संक्रमित पुरुषको ज्याज गएको हो । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शनिबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यहाँ दुुई महिनाको अवधिमा १ सय २१ जनामा डेंगुका विरामी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए । उनका अनुसार साउन महिनामा २३ र भदौ २९ सम्म ९८ जना डेंगुका विरामी भेटिएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले भदौं २९ गते यताको संख्या भने अपटेड गराएको छैन । यस बिचमा संक्रमित भेटिए पनि विदाका कारण सम्बन्धित स्वास्थ्य संस्थाहरुबाट अपडेट हुन नसकेको ल्याब टेक्निसियन भट्टराईले बताए । यहाँका युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराउन आउनेमा डेंगु संक्रमण देखिएको हो । अन्य निजी स्वास्थ्य संस्थाहरुमा पनि छिट्टफुट्ट रुपमा विरामी भेटिएका स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्ला दिनहरुमा दिनहुँ डेंगुसँग मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामीको चाप समेत यहाँका अस्पतालहरुमा बढेको छ । अस्पतालको आकस्मिक कक्षमा टाउको तथा मांसपेसी दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने र ग्रन्थी सुन्निने लगायतका समस्या लिएर आउने बिरामीहरू बढेको अस्पतालहरुले जनाएका छन् । जिल्लामा साउनयता तिव्र रुपमा डेंगु संक्रमण बढेको स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्रप्रसाद गिरीले बताए ।

तानसने बजारसहित ग्रामीण भेगका निजी स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीहरुमा डेंगु संक्रमित थपिने क्रम बढेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुरोगको उपचार नभएकाले यसको टोकाइबाट बच्न प्रमुख गिरीले सबैलाई आग्रह गरेका छन् । उनले बिरामीको संख्या बढे पनि आत्तिनुपर्ने अवस्था भने नभएको बताए । पोथी जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण बढ्ने भएकाले यसको बासस्थान खोजी गरी नष्ट गर्नु र त्यसको टोकाईबाट बच्नु नै यो रोगको उपचार भएको गिरीले बताए । उनले डेंगुले ठूलो प्रकोपको रूप लिएकाले यसबाट बच्ने उपायका बारेमा सबै तहबाट सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए । यहाँ गत वर्ष २७ जनामा मात्र संक्रमण देखिएको थियो ।

पाल्पामा डेंगु संक्रमण बढ्दै गएपनि स्वास्थ्य कार्यालयमा संक्रमण पत्ता लगाउने किट भने अभाव छ । किट नहुँदा लक्षण देखिएकाहरुको समेत परीक्षण गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले किट उपलब्ध नगराउदा लक्षण देखिएका विरामीहरुले बाहिर गएर महङ्गो शुल्क तिरेर परीक्षण गराउनु परेको छ । विरामी भएर निजी अस्पताल पुग्नेहरुको डेंगु र कोभिड दुवै परीक्षण गर्नुपर्ने भएकाले किट निःशुल्क नहुँदा पैसा तिरेर जाँच गर्नु परेको सेवाग्राहीहरुको गुनासो छ ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update