Shittalpati
पाल्पामा राष्ट्रिय परिवार नियोजन दिवस मनाइयो

पाल्पा, नवौं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६४ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवस पाल्पामा पनि मनाइएको छ । ‘व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले आइतबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरसंवाद कार्यक्रम गरी दिवस मनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश स्वास्थ्य कार्यालय पाल्पासँगको सहकार्यमा संघले कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले व्यवस्थित परिवार निर्माणका लागि प्रजनन् स्वास्थ्यको विकासमा सबैले ध्यान दिनुपर्ने बताए । उनले वडा र पालिका तहमा प्रजनन् स्वास्थ्यका विषयमा सचेतना कार्यक्रमहरु गर्न आवश्यक रहेकाले आफुले सबै स्थानीय सरकारलाई आग्रह गर्ने बताए । विशिष्ट अतिथि जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले परिवार आवश्यक रहे पनि व्यवस्थित परिवार अहिलेको आवश्यकता रहेको औल्याए । उनले वर्तमान अवस्था अनुसार कानुन निर्माण नहुँदा बालविवाह बढ्दै गएको बताए । अधिकारीले भने ‘अहिलेको खानपान र सूचना प्रविधिका कारण युवा युवतीहरु १५/१८ वर्षकै उमेरमा विवाह गर्ने क्रम बढेको छ तर कानुनले २० वर्ष पुरा नभई विवाह गर्न बन्देज गरेको छ ।’ कानुन समय परिस्थिती अनुसार नहुँदा समाजमा बालविवाह बढ्दो रहेको उनको भनाई छ । स्वास्थ्य कार्यालयका प्रजनन् स्वास्थ्य फोकल पर्सन टिकाराम अधिकारीले व्यवस्थित परिवार निर्माण गर्ने दिशामा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । उनले स्वास्थ्य कार्यालय पाल्पा र परिवार नियोजन संघको सहकार्यमा जिल्लामा प्रजनन् स्वास्थ्यका क्षेत्रमा उल्लेखिय काम गरिएको बताए । कार्यक्रममा संघका सल्लाहकार चित्रवलीराम सुवाल, पत्रकार महासंघका अध्यक्ष रेखिराम राना लगायतले परिवार नियोजनका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

संघका शाखा प्रवन्धक शोवाकान्त न्यौपानेले कार्यक्रम माथि प्रकाश पार्दै जिल्लामा परिवार नियोजनका कार्यक्रम प्रभावकारी बनेको बताए । उनले परिवार नियोजनका साधन तथा सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । मिडियाको माध्यमबाट सेवा प्रभावकारिता तथा गुणस्तरीयताको बारेमा जनताले थाहा पाउने गरेको उनले बताए । संस्थाले परिवार नियोजनका साधनमार्फत अनिच्छुक गर्भधारणबाट बचाउने, यदी अनिच्छुक गर्भ रहेको भए सुचिकृत स्वास्थ्य संस्थामार्फत सुक्षित तरिकाबाट गर्भपतन गराउने सेवालाई व्यक्ति–व्यक्ति, परिवार–परिवारमा पुर्‍याउने काम गर्दै आएको शाखा प्रवन्धक न्यौपानेले जानकारी दिए । उनले पछिल्लो समय पाल्पामा बाल मृत्युदर, मातृ मृत्युदर र बालविवाह चुनौतिका रुपमा देखा परेकाले त्यसको न्यूनिकरणका लागि स्थानीय सरकारले समेत ध्यान दिनुपर्ने बताए ।

संघका उपाध्यक्ष ज्योतिराज भण्डारीको अध्यक्षता, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेको स्वागत, कमल बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । नेपाल सरकारले पहिलो पटक २०७१ असोज २ गतेलाई राष्ट्रिय परिवार नियोजन दिवसका रुपमा मनाएको थियो । प्रजनन् स्वास्थ्यमा नेपाल परिवार नियोजन संघले पुर्‍याएको योगदानको कदर गर्दै संघकै स्थापना दिवसलाई सरकारले २०७१ साल देखि राष्ट्रिय परिवार नियोजन दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । यौन तथा प्रजनन अधिकारका क्षेत्रमा कार्यरत संघको वि.स. २०१५ मा असोज २ गते स्थापना भएको थियो । आफ्नो स्थापना दिवसलाई संघले परिवार नियोजन दिवसका रुपमा मनाउँदै आएको छ । पाल्पामा भएको कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मी सहित यौनिक अल्पसंख्यक, एचआईभी संक्रमित र फरक क्षमताका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update