Shittalpati
रामपुरमा आयुर्वेद सेवा विस्तार गरिंदै, स्थानीय उत्साहित

सुशीला रेग्मी (रासस)
रामपुर (पाल्पा), आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शैययाको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ । रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शैययाको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित बनेका छन् । यो पाल्पा जिल्लाकै ठूलो क्षमताको आयुर्वेद अस्पतालमा विकास हुँदैछ । संघीय सरकारको भवन निर्माण अन्तर्गत नौ करोड ५४ लाख ८७ हजार लागतमा ठेक्का सम्झौता भई भवन निर्माण भइरहेको छ । विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरी फागुनबाट शिवशक्ति कन्ट्रक्सन प्रालिले निर्माण कार्य थालनी गरेको हो ।

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विसं २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले अनिश्चितकालसम्मका लागि बन्दाबन्दी जारी गरेपछि निर्माण कार्य केही समय प्रभावित भयो । बन्दाबन्दी खुकुलो भएपछि २०७७ को मंसिरदेखि पुनः भवन निर्माणको काम थालियो । सो भवन २०७८ भदौ २४ गतेभित्रमा सम्पन्न हुने सम्झौता भएतापनि कोरोनाको कहरले भने काम प्रभावित बन्न पुग्यो । पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वी भेगको रामपुरमा निर्माण हँुदै गरेको सो भवनको हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सकिएको निर्माण कम्पनीका सुपरभाइजर गंगा श्रेष्ठ बताउँछन् । उनका अनुसार आगामी माघ मसान्तभित्रमा म्याद थप गरी निर्माणको काम सक्ने सम्झौता रहेको र सो समयावधिमा भवन निर्माण गरी हस्तान्तरण हुनेछ । अब भवन रङरोगन, बिजुली बत्ती जडान, आल्मुनियम जडान, ग्रिल लगायतका काम बाँकी छन् । रामपुर आयुर्वेद औषधालयको स्वामित्वमा १२ रोपनी आठ आना जग्गा छ । सोही जग्गामा नै तीनतले सुविधा सम्पन्न नयाँ भवनमा एक योगाभ्यास हल रहनेछ । संघीय आयोजना कार्यालय एकाइ भैरहवाको रेखदेखमा भवन निर्माण भइरहेको छ । हाल दैनिक १५ देखि २० मजदुर काममा खटिएका छन् । यस आयुर्वेद औषधालयमा २०२४ सालदेखि आफूले नियमित सेवा लिँदै आइरहेको र अब भवन निर्माणपश्चात् अस्पतालको रुपमा परिणत भएपछि नागरिकले राम्रो सेवा पाउने समाजका अगुवा ७० वर्षीय नगिलाल पौडेल बताउँछन् । रक्तचाप, ग्याष्ट्रिक लगायतको औषधि सेवन नियमित रुपमा गरेको उनी बताउँछन् ‘अब १५ शैययाको अस्पताल चालु भएपछि शतप्रतिशत सेवा पाइने छ, भवनस्तरीय र निर्माणको कार्य दु्रतगतिमा अगाडि बढेको देख्दा थप सेवा छिट्टै उपयोग गर्न पाइनेमा विश्वस्त छौँ, कालीगण्डकीबेँसीको केन्द्रका रुपमा रहेको यहाँबाट धेरै नागरिक लाभान्वित हुनेछन्’, उनले भने ।

यहाँ अस्पताल चालु भएपछि पूर्वी पाल्पाका रामपुर नगरपालिकासहित निस्दी, पूर्वखोला, रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिका र नवलपरासी पूर्वको बौदिकाली गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने रामपुर नगरपालिका आयुर्वेद शाखा प्रमुख तथा आयुर्वेद औषधालयका कविराज चेमप्रकाश पोखरेलले जानकारी दिए । उनी भन्छन्, ‘चार जिल्लाको केन्द्र रामपुरमा व्यापारिक, शैक्षिक, उपचार सेवाका लागि ठूलो संख्यामा आउने गरेकाले आयुर्वेद अस्पताल सञ्चालनमा सबैको चासो बढेको छ, उपचार सेवा थपिने हुँदा अन्यत्र जानुपर्ने अवस्था हट्नेछ ।’ आयुर्वेद अस्पतालमा नवौँ तहसम्मका डाक्टरको दरबन्दी रहने छ । जसमा डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगी लगायतका सरकारले मापदण्ड तोकेका कर्मचारीबाट सेवा दिइने छ । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट आकस्मिक, एक्सरे, प्रयोगशाला, बहिरङ्ग, पायल्स, बिरामी भर्ना, योगको थेरापी लगायतका सेवा सञ्चालन गरिनेछ । औषधालयमा कविराज र वैद्य एक/एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ । औषधालयमा बहिर·, साधारण, स्तनपायी आमा सेवा कार्यक्रम, जेष्ठ नागरिक लगायतका सेवा प्रवाह भइरहेको छ ।

सरकारी अस्पतालको पहुँच नपुगेको पाल्पाको रामपुरमा विसं २०१७ मा रामपुर आयुर्वेद औषधालय स्थापना भएपछि यहाँका नागरिकले सरकारीस्तरको स्वास्थ्य सेवाको अनुभूति गर्न पाएका थिए । विसं २०२९ मा भने अञ्चल आयुर्वेद औषधालयका रुपमा परिणत भई सेवा दिन थालियो । अञ्चल कार्यालय सदरमुकाम बुटवलमा मात्रै राख्ने तत्कालीन सरकारको निर्णय रहेकाले विसं २०४३ माघ ६ गते अञ्चल कार्यालय बुटवलमा स्थानान्तरण भएपश्चात् पुनः आयर्वेद औषधालयकै रुपमा सेवा दिन थालियो । सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक/एक आयुर्वेद औषधालय छन् । यस्तै रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकार अन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा पाल्पामा ३६ हजार पाँच सय १५ ले आयुर्वेद सेवा लिएको जिल्ला आयुर्वेद कार्यालयले जनाएको छ ।

जसअन्तर्गत रामपुरमा आठ हजार चार सय २५, पूर्वखोलामा दुई हजार तीन सय ३६, बगनासकालीमा दुई हजार छ सय ६४, रिब्दीकोटमा चार हजार सात सय तीन, रैनादेवी छहरामा दुई हजार तीन सय ७९, माथागढीमा तीन हजार सात सय ४२ र तानसेन नगरपालिका (यहाँ नागरिक आयोग्य सेवा केन्द्र निस्दी, तिनाउँ र रम्भाको सहित) १३ हजार तीन सय ६५ रहेको छ । पालिकामा सबैभन्दा धेरै आयुर्वेद सेवा लिने रामपुर हो । –रासस

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update