Shittalpati
सातै प्रदेशमा कोरोनाको उपचार

पाल्पा, सरकारले सातै प्रदेशमा कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको दर फेरी बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका अस्पतालहरुमा उपचारको व्यवस्था मिलाएको हो ।

सात वटा प्रदेशका १७ वटा अस्पतालमा कोरोनाको उपचार गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका संघ र प्रादेशिक अस्पतालको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जमा कोरोनाको उपचारको व्यवस्था गरिएको छ । यस्तै प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज रहेका छन् ।

यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ रहेका छन् । यस्तै कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update