Shittalpati
तिनाउ कोभिड पूर्ण खोप सुनिश्चित पालिका घोषणा

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिका कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने ७ सय ५३ स्थानीय तहमध्येमा पाँचौ र गाउँपालिका मध्ये दोस्रो भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र प्रसाद गिरीले तिनाउ गाउँपालिकालाई जिल्लाकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गरेका हुन् । गाउँपालिकाले १२ बर्षभन्दा माथि उमेरका व्यक्तिहरुको खोज र खोप अभियान सञ्चालन गरी, घरपरिवार, विद्यालय सर्भेक्षण लगायतका मापदण्ड पुरा गरी जिल्ला खोप समन्वय समिति, कोभिड खोप व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाबाट अनुगमन प्रक्रिया पुरा गरेर गाउँपालिकालाई जिल्लाकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.गिरीले तिनाउ गाउँपालिकाले कोभिड १९ को शुरुको अवस्थादेखी हालसम्म रोकथाम, न्युनिकरण, सावधानी खोप अभियानमा राम्रो काम गरेर जिल्लामै पहिलो हुन सफल भएको बताए । नियमित खोपका कार्यक्रमलाई पनि यसै गरी सुनिश्चितता घोषणा अभियान सञ्चालन गर्न डा. गिरीले अन्य गाउँपालिकालाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका खोप फोकल पर्सन विश्वनाथ न्यौपानेले तिनाउ गाउँपालिका कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने देशकै पाँच वटा पालिका भित्र नाम लेखाउन सफल भएको बताए । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ निरीक्षक टिकाराम अधिकारीले स्वास्थ्य शाखाको अगुवाईमा सबै पालिकाका कर्मचारी, जनप्रतिनिधी, महिला स्वयसेविका, स्वास्थ्यकर्मीको सहकार्यबाट पालिकाले महत्वपूर्ण उपलव्धि हासिल गरेको बताए । कार्यक्रममा रेडक्रस तिनाउ उपशाखाका सभापति अमर सिंह प्रधानले नियमित माक्स लगाउने, पटक–पटक साबुन पानीले हात धुने बानी बसाले मात्र कोभिड सक्रमणबाट जोगिन सकिने भएकाले यो अभियानलाई निरन्तरता दिन सबैमा अनुरोध गरे । सुआहारा कार्यक्रमका पोषण अधिकृत विनोद कुमार पोखरेलले कोभिडको कारण मानवजातीकै संकटको अवस्था आएको समयमा विश्वका स्वास्थ्यकर्मीले सेनाको भूमिकामा संक्रमण विरुद्ध लडेको बताए ।

कार्यक्रममा मस्याम स्वास्थ्य चौकीका सिनियर अहेव गंगाराम खनाल, महिला स्वयमसेविका रिता कुमारी भट्टराई, पत्रकार महासंघ पाल्पाका प्रतिनिधी विजय कुमार बौडेल लगायतले भौगोलिक विकटतालाई चिर्दै घर–घर सर्वेक्षण गरेर, खोज र खोप अभियान सञ्चालन गरेर पालिका जिल्लामै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चिता भएको गाउँपालिका घोषणा गरी नमुना पालिका भएको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले गत फागुन १२ देखी घोषणा अभियानको लागि विभिन्न सुचकहरु पुरा गर्दै वडा घोषाणा गर्दै सिङ्गो पालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चतता भएको पालिका घोषणा भएको बताए । गाउँपालिकाले कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चतता भएको देशकै पहिलो पालिका घोषणा तयारीका साथ काम गरेपनि केही प्राविधिक कारण नसकिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । तिनाउ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीको ंसञ्चालन, स्वास्थ्य शाखाकी नर्सिंङ निरीक्षक रिता थापाको स्वागत, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको अध्यक्षतामा घोषणासभा भएको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update