Shittalpati
गुल्मीमा सिटामोलको अभाव छैन

गुल्मी, १२ माघ / गुल्मीमा सिटामोलको अभाव नभएको पाइएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर बुधबार गुल्मीमा नीजि औषधी पसलहरुको अनुगमन गर्ने क्रममा सिटामोल लगायतका औषधीको अभाव नभएको पाइएको हो ।

जिल्लास्थित नीजि औषधी पसलहरुको प्रतिनिधि रुपमा गरिएको अनुगमनमा सिटामोल लगायतका औषधीहरुको अभाव नभएको पाइएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । अनुगमन गरिएका औषधी पसलहरुमा औषधीहरुको अभाव नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । आउने दिनमा सिटामोल लगायतका औषधीहरुको अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गरेर जिल्लास्थित औषधी व्यवसायी संघसँग समन्वय भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।

गुल्मी अस्पतालमा पनि कुनै औषधीको अभाव नभएको अस्पतालका डाक्टर उत्तम पच्याले प्रमुख जिल्ला अधिकारी पौडेललाई जानकारी गराएका थिए । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गोपाल बहादुर कार्कीले जिल्लामा औषधी अभाव नदेखिएको बताए । अनुगमनको क्रममा औषधीहरुको अभाव नदेखिए पनि जिल्लामा पर्याप्त मात्रामा औषधी भने नभएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी कार्कीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, गुल्मी अस्पतालका डाक्टर उत्तम पच्या, जिल्ला जनस्वास्थ्य कार्यालयका गोपाल बहादुर कार्की र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु सहितको समूहद्वारा जिल्ला स्थित निजि औषधी पसलमा अनुगमन गरिएको हो । गुल्मीमा निरन्तर कोरोनाको संक्रमण दर बढिरहेको छ । बुधवार मात्र १ सय १५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । जिल्लामा ४ सय ७६ जना कोरोना सक्रिय संक्रमित पुगेका छन् । जिल्लामा बुधबार परिक्षण गरिएका मध्ये झण्डै ६४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update