Shittalpati
पाल्पामा जोखिम बढ्यो, छैन सतर्कता

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा दिनहुँ कोरोना संक्रमणको जोखिम तीव्र रुपमा बढ्दै गए पनि सतर्कता अपनाइएको छैन । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमण रोकथामका लागि आदेश जारी गरेको छ, तर आदेशको कतै पालना भएको छैन । जसले गर्दा यहाँका घर–घरै संक्रमणका बिरामी बढेका छन् । कोभिड जोखिम बढेसँगै सरकारले देशभरका विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्णय गरेसँगै जिल्लाका विद्यालय पनि बन्द छन् । तर सार्वजनिक स्थल, सेवा प्रदायक कार्यालयमा भने भीडभाड उस्तै छ । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणको बेला जिल्ला भित्रने नाकामा स्थापना भएका हेल्थडेक्स अहिले कतै देखिदैन । अघिल्ला वर्ष स्थापना भएका आइसोलेसन र क्वारेन्टिन सञ्चालनलाई निरन्तरता दिन स्थानीय तह समेत अग्रसर छैनन् ।

जिल्ला प्रशासनले पुस २८ बाट लागु हुने गरी २५ जनाभन्दा बढी उपस्थिति हुने गरी मेला, भेला तथा महोत्सव र सामाजिक कार्य नगर्न आदेश जारी गरेको छ । सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन, मालपोत, नापी, कर कार्यालय र बैंक तथा वित्तीय संस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाउन निर्देशन गरिए पनि ति कार्यालयले भिडभाडलाई व्यवस्थित बनाउन सकेका छैनन् । खोप लगाउने स्वास्थ्य केन्द्रहरूमा समेत असावधानी देखिन्छ । खोप केन्द्रहरूमा दिनहुँ भिडभाड हुँदा जोखिम उत्तिकै बढेको छ । यहाँ सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको निगरानी समेत हुन सकेको छैनन् । सार्वजनिक स्थानमा तालिम, गोष्ठी, भेला समेत निरन्तर भइरहेका छन् । आमनागरिकहरुले नै सावधानी नअपनाउँदा जोखिम बढ्दै गएको तानसेन भगवती टोलका देवेन्द्रबहादुर रायमाझीले बताए ।

उनले घर बाहिर निस्कदा अनिवार्य स्वास्थ्य मापदण्डको पालना नभएको बताए । ‘किनमेल गर्न जानेलाई कोरोना लाग्दैन भन्ने छैन’, उनले भने, ‘त्यसैले सबैले सावधानी अपनाउन जरुरी छ ।’ संक्रमित व्यक्तिहरु समेत खुलमखुला हिँड्दा जोखिम झनै बढेको उनको बुझाई छ । जिल्लामा केही सातायता संक्रमणको ग्राफ तिव्र रुपमा उकालो लागेको छ । आइतबार मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म पाल्पामा ३ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update