Shittalpati
पाल्पामा आइतबार थप ४३ जनामा संक्रमण पुष्टि

पाल्पा,  जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

१७ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका ६, बगनासकाली गाउँपालिकाका २, माथागढी गाउँपालिका, रामपुर नगरपालिका, तिनाउ गाउँपालिका र निस्दी गाउँपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ६ सय ५५ जना महिला र ४ हजार ४७ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३१ जनामा संक्रमण देखिएको छ । ४५ जनामा परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका १७, बगनासकाली गाउँपालिकाका ५,रैनादेवी छहरा गाउँपालिकाका ४, माथागढी गाउँपालिकाका ३, पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ४ सय ७८ पुगेको छ । जहाँ २ हजार ३ सय ३ जना महिला र २ हजार ३ सय ३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमितले कोरोना जितेका छन् । तानसेनका ५, रामपुर, बगनासकालीका ३/३, पूर्वखोलाका २, रैनादेवी छहरा, रम्भा, रिब्दीकोटका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ५ सय ५८ पुगेको छ । जसमा ४ हजार ७ सय ८ महिला, ५ हजार ८ सय ५० जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५७ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८४ जना महिला र १ सय ७३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म ३ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ३ सय ६० जना होम आइसोलेसनमा रहेका छन् भने ५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update