Shittalpati
नेपालमा पनि भेटियो ओमिक्रोन भेरिएन्ट

पाल्पा, नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको बताइएको हो ।

विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ । उनीहरुसँगै नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने संक्रमण देखिएको छैन ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ । दुवैजना अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । ती व्यक्ति गत मंसिर ३ गते नयाँ भेरिएन्ट पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेको जनाइएको छ । ती व्यक्ति र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा मंसिर ७ गते कोरोना पुष्टि भएको थियो । उनीहरूबाट संकलन गरिएको नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा आइतबार ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update