Shittalpati
तिनाउको दोभानमा आँखा उपचार केन्द्रको सेवा

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकाका नागरिकलाई लक्षित गरी दोभानमा आखाँ उपचार केन्द्रको सेवा सञ्चालनमा ल्याइएको छ । योसँगै गाउँपालिका भित्रका आँखा रोगीहरु उपचारको लागि तानसेन तथा बुटवल भैरहवासम्म जानुपर्ने बाध्यता हटेको छ । तिनाउ गाउँपालिका र नेपाल नेत्र ज्योती संघ पाल्पा, लायन्स लाकौल आँखा अस्पताल तानसेन र सेवा फाउण्डेशनको सहयोगमा आखाँ उपचार केन्द्र सञ्चालन गरिएको हो । उपचार केन्द्रको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले शुभारम्भ गरे । आँखा उपचार केन्द्रको शुभारम्भ गर्दै अध्यक्ष घर्तिमगरले पालिकाले अबका दिनमा गाउँ गाउँ टोल टोलमा पुगी आँखा शिविर सञ्चालन गरी गाउँपालिकाभरी आँखा रोगीहरु न्युनीकरण गरिने बताए । वडा वडाको तालिका बनाएर आँखा शिविर सञ्चालन गरिने अध्यक्ष घर्तिले बताए ।

बढ्दो प्रविधीसँगै मोवाईल ल्यापटपको प्रयोग, दीर्घरोगी व्लड प्रेसर, सुगर जस्ता विरामीहरुले नियमित आँखा चेकजाँच गर्नुपर्ने, विभिन्न घटना तथा दुर्घटनामा आँखामा हुने क्षतीलाई तत्काल उपचारको लागि गाउँपालिकामै आँखा उपचार केन्द्र सञ्चालन गरिएको पालिका अध्यक्ष घर्तिमगरले बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले स्वास्थ्य क्षेत्रमा गाउँपालिकामा सुविधा थपिदै गएको बताए । गाउँपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र, बर्थिङ सेन्टर, आर्युवेदिक उपचार केन्द्र सञ्चालन भएकाले अबका दिनमा गाउँपालिकाको कामसँगै उपचार गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल नेत्र ज्योती संघका सचिव भिमसेन कार्कीले शरिरको महत्वपूर्ण अंग आँखा भएकाले जनतालाई सर्व सुलभ उपचारको लागि गाउँपालिकाको सहयोगमा दोभानमा उपचार केन्द्र सञ्चालन गरिएको बताए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापा, वडा अध्यक्षहरु रोम बहादुर लम्तरी, राजेश श्रेष्ठ, प्रेम पाण्डे, दल बहादुर दर्लामी, नेत्र चिकित्सक रुसेनी के.सी. तिनाउ नसिंङ ईन्चाज रिता थापा लगायतले पालिका भित्र आँखा उपचार सञ्चालनले आँखा रोगीहरुलाई धेरै फाईदा पुगेको बताए । आँखा उपचार केन्द्रमा दैनिक रुपमा सहायक नेत्र चिकित्सक र सहयोगीहरु रहने छन् । नेपाल नेत्र ज्योती संघका सचिव भिमसेन कार्कीको अध्यक्षता, पाल्पा लायन्स लाकौल आँखा अस्पतालका व्यबस्थापक जीवनाथ गैरेको स्वागत र संघका सदस्य प्रफुल्ल शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update