Shittalpati
पाल्पामा थपिए ६ नयाँ संक्रमित, ७ जना निको

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

२७ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकाका १/१ जना रहेका छन् । जसमा २ जना महिला र १ जना पुरुष रहेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ३ सय पुगेको छ । जसमा २ हजार ४ सय ६६ महिला र ३ हजार ८ सय ३४ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका १ र रिब्दीकोट गाउँपालिकाका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ५ पुगेको छ । जहाँ २ हजार ७७ जना महिला र १ हजार ९ सय २८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ६ र तिनाउका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ९ सय २५ पुगेको छ । जसमा ५ हजार ५ सय ५१ महिला, ४ हजार ३ सय ७४ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ४८ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८२ जना महिला र १ सय ६५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म १ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय १२ जना होम आइसोलेसनमा रहेका छन् भने २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update