Shittalpati
स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने

पाल्पा,  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । पदभार सम्हालेको १० औं दिनमा मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा श्रेष्ठले सुरक्षाकर्मीबाहेक सरकारले दिने तलबभत्ता, आवासलगायत सुविधा नलिने बताएका हुन् ।

मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताए । ‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत सार्वजनिक गर्न चाहन्छु,’ राज्यमन्त्री श्रेष्ठले भने । हालसम्म आफू संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनी रूपमा नै त्याग गरिसकेको उनले बताए । शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठ साउन १० गते स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।

राज्यमन्त्री श्रेष्ठले १ सय दिनको भावी कार्ययोजना सार्वजनिक गर्दै खोपको वितरण तथा व्यवस्थापनमा बढी जोड दिने बताए । उनले आइसीयू, एचडीयू, भेन्टिलेटरको उचित प्रबन्ध गरिनुका साथै कोभिड–१९ बिरामीका लागि प्राणवायु अक्सिजनमा शून्य नाफा कायम गरी अविलम्व कार्यान्वयनमा ल्याइने दाबी गरे । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्म २ करोड डोज खोप आइपुग्ने पनि बताएका छन् । उनले कुल ५ करोड डोजभन्दा बढी खोप आपूर्तिका लागि सरकारले तयारी गरेको बताउदै असोज महिनाको अन्त्यसम्म २ करोड डोज खोप आपूर्ति सुनिश्चित भइसकेको जानकारी गराए ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update