Shittalpati
नविन्द्रराज जोसीको स्मृतिमा पाल्पाको हुँगीमा स्वास्थ्य सामग्री वितरण

रामचन्द्र रायमाझी
पाल्पा,नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको स्मृतिमा पाल्पाको रम्भा गाउँपालिका १– हुँगीमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस हुँगी गाउँ समितिको समन्वयमा हुँगी स्वास्थ्य चौकीमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।

धर्मपत्नी सपना जोसीले आफ्ना स्वर्गीय श्रीमान नविन्द्रराज जोसीको स्मृतिमा पठाएको स्वास्थ्य सुरक्षा सामग्री शुक्रबार हुँगी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो । उक्त सुरक्षा सामग्री नेपाली काँग्रेसका महासमिति सदस्य हिमालदत्त श्रेष्ठ, दानबहहादुर पछाईले संयुक्त रुपमा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण महासमिति सदस्य श्रेष्ठले कोभिड–१९ को महामारीका कारण अग्रभागमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुका लागि जोसी परिवारले गरेको सुरक्षा सामग्री सहयोग आफैमा प्रशंसनिय रहेको बताए । उनले महामारीका बेला फन्टलाइनमा काम गरेका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउन सहयोग स्वास्थ्य सामग्रीले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । अर्का महासमिति सदस्य दानबहादुर पछाईले नेपाली काँग्रेसका अत्यन्त प्रभावशाली नेता नविन्द्र जोसीको स्मृतिमा उनको धर्म पत्नीले देखाएको सहयोग र सद्भाव अत्यन्त प्रशंसनिय रहेको बताए । नेता पछाईले जोसीले नेपाली जनता र राष्ट्रका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै उनको योगदानको सधै काँग्रेसले अनुसरण गर्ने धारणा व्यक्त गरे ।

स्वास्थ्यचौकीका लागि स्यानिटाइजर र मास्क वितरण गरिएको थियो । वितरण कार्यक्रममा नेपाल विद्यार्थी संघ पाल्पाका कार्यवाहक सभापति सुरेस बोहोरा, जनप्रतिनिधि शान्ति झेडी, नेपाली काँग्रेस बुथ कमिटीका सदस्य बाबुराम पछाई, राष्ट्रिय मगर संघका जिल्ला सदस्य थानबहादुर मगर लगायतको उपस्थिती रहेको थियो ।

स्मरण रहोस् नविन्द्रराज जोसीले संसद् विघटनका विरुद्धमा भएको आन्दोलनलाई गत माघ ३ गते हुँगीमा सम्बोधन समेत गरेका थिए । उनको मस्तिष्कघातका कारण गत चैत १३ गते निधन भएको थियो । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री, काठमाडौंका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्ष गरेका थिए । राजनीतिलाई सँधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांँग्रेसका निष्ठावान राजनीतिज्ञका रुपमा परिचित थिए । विसं २०७३ सालमा उद्योगमन्त्री बनेका नेता जोशी नेपाली काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए । स्व.जोशीका श्रीमति र एक छोरी छन् । मस्तिष्कघात हुनुभन्दा पहिले स्व.नेता जोशी आफ्नो निर्वाचन क्षेत्रको घर–घरमा पुगेर कोरोनाको सामग्री समेत वितरण गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update