Shittalpati
लुम्बिनी मेडिकल कलेजमा प्रसूति गराउने क्रममा सुत्केरीको मृत्यु

पाल्पा, तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका १, हुँगीकी २२ वर्षीय रिमा मश्राङ्गीको उपचारको क्रममा मंगलबार साँझा मृत्यु भएको हो ।

मृतक मश्राङ्गी मंगलबार प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । भर्ना भएकी उनले जीवित छोरालाई जन्म दिएकी थिइन । जन्म दिएकी उनको मृत्यु भएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनका अनुसार अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन् ।

अस्पतालको लापरवाही र उपचार प्रक्रिया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडान लिएको अध्यक्ष भण्डारीले बताए । यता अस्पतालले भने उपचारमा लापरवाही नभएको जनाएको छ । अस्पतालका अध्यक्ष गोपाल पोखरेलले अस्पतालको कुनै पनि लापरवाही नभएको र उपचार गर्दागर्दै महिलाको ज्यान जान पुगेको बताए । महिलाको पाठेघरको अपरेसन गर्नु पर्ने अवस्था आएपछि परिवारकै सल्लाहामा शल्यक्रिया गर्दा उनको मृत्यु भएको अस्पतालको भनाई छ ।

अस्पताल प्रशासनले पीडित परिवारलाई पाँच लाख दिने, मृतकका छोरालाई उच्च शिक्षासम्म अध्ययनका लागि सहयोग गर्ने,अस्पतालमा लागेको सम्पूर्ण खर्च मिनाह गर्ने बताएको तर परिवारले नमानेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । अस्पतालले रम्भा गाउँपालिका अध्यक्ष भण्डारीको रोहबरमा परिवारसँग बसेर छलफल गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update