Shittalpati
कोभिड पीडितको सेवामा रामपुरका युवा

सुशीला रेग्मी (रासस)

रामपुर (पाल्पा),  रामपुर अस्पतालको आइसोलेशनका शैयामा बिरामीे छट्पटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् । आफन्तले बिरामीलाई खाना जुटाउन सकेनन् । यो दृश्यलाई नियाल्दै थिए रामपुरका युवा सुन्दर कँडेल । उनी अस्पतालमा कोभिडका बिरामीलाई आइसोलेशनमा राखेर उपचार शुरु गर्न थालेको खबर सुनेपछि त्यहाँको अवस्था बुझ्न अस्पताल परिसरमा पुगे । केहीबेर अस्पताल परिसरमा बसेर त्यहाँको दृश्य नियाल्दै जाँदा बिरामीका आफन्त खानाका खोजीमा नजिकैका होटलमा पसे । व्यवसायीले कोभिडका बिरामीलाई खाना खुवाउन भने चासो देखाएनन् । उनी बिरामीका निम्ति केही सहयोग गर्ने मनसायले रामपुर युवा क्लबमार्फत बिहान साँझ खाना खुवाउने अभियानमा युवालाई हातेमालो गर्दै अग्रसर भएर जुटे । क्लवका युवा मिलेर केही रकम आफैँबाट संकलन गरी अस्पतालमा उपचाररत कोभिडका बिरामी, कुरुवा, उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई दैनिक बिहान साँझ खाना खुवाउने अभियान थालियो । गत वैशाख अन्तिम साता सो अस्पतालमा आइसोलेशन सञ्चालनमा आएको थियो भने यसकोे दुई दिनपछि वैशाख ३० गतेदेखि दैनिक क्लबले निःशुल्क खाना खुवाउने अभियान शुरु गरेको हो । यो अभियान अहिले पनि निरन्तर चलिरहेको छ । अस्पताल आसपासमा रहेका होटल व्यवसायीले आफूहरूमा संक्रमण सर्ने डरले खाना खुवाउन अस्वीकार गरेको देखेपछि सो समस्यालाई मध्यनजर गर्दै निःशुल्क खाना खुवाउने अभियान शुरु गरिएको कँडेलले बताए । उनी भन्छन्, ‘पैसा तिरेर खान्छुभन्दा पनि खाना खाने ठाउँ छैन् बिरामीलाई, यस्तो अवस्था देखेपछि क्लबका युवाले केही रकम उठाएर हामी आफैँबाट खाना खुवाउने अभियान सुरुवात गर्‍यौँ ।’ टाढाका बिरामीलाई घरबाटै खाना पकाएर अस्पतालसम्म ल्याउन अप्ठ्यारो स्थिति थियो भने अर्कोतर्फ होटलले पनि खाना खुवाउन नमानेको बिरामीका आफन्तले गुनासो पोखेपछि हामी आफैँले खाना बनाएर अस्पतालमा पुर्‍याउने गरिदिएको रामपुर युवा क्लबका अध्यक्ष छमबहादुर दरैले जानकारी दिए । अभियानलाई देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, संघसंस्थाबाट सहयोग रकम प्राप्त भइरहेको उनले बताए । हालसम्म करीब तीन लाख बढी रकम सहयोग जुटेको छ । सात जनाबाट खाना खुवाउन शुरु गरेको क्लबले एक दिनमा ३२ जनासम्मलाई खाना खुवाएको तथ्याङ्क छ । ट्राभल डेन्टिस्टरी नेपाल एवं होराइजन डेण्टल क्लिनिक रामपुरले खाना बनाउने तथा विभिन्न सहयोगको व्यवस्थापन मिलाएको छ । गाउँ–गाउँमा दोस्रो चरणअन्तर्गत कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि २०७८ वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेपछि सवारी साधन सञ्चालनमा रोक लगाइयो । अस्पतालदेखि टाढाका बिरामीलाई दैनिक बिहान साँझ घरबाटै खाना ल्याएर खुवाउन सम्भव थिएन । यस्तो परिस्थितिमा युवाले सामाजिक भावनाका साथ थालनी गरेको यो कार्य नमूना रहेको र बिरामीलाई पनि कोरोनासँगको लडाई लड्न ठूलो हौसला प्रदान गरेको समाजसेवी लेखनाथ शर्मा मरासिनीले बताए । पूर्वखोला गाउँपालिका– १ सिलुवाका गणेश विक कोभिडबाट निको भएपछि अहिले तङ्ग्रदै छन् । आठार दिनसम्म अस्पतालको आइसोलेशन कक्षमा बसेका दुवै आँखा नदेख्ने उनी दिन प्रतिदिन हष्टपुष्ट हुँदै गएका छन् । स्वास्थ्यकर्मीले गर्ने मित्रवत् व्यवहार, उपचारमा विशेष चासो, अस्पतालकै शैयामा स्वास्थ्यवद्र्धक खाना खान पाएको उनले बताए । ‘घरबाट अस्पतालसम्म एकतर्फी पैदल तीन घण्टाभन्दा बढीको समय हिँड्नुपर्छ, सवारीसाधन सबै कोरोनाले बन्द थिए, पैदल हिँडेर घरबाट खाना ल्याएर बिरामीलाई खुवाउन परिवार आफन्तलाई निकै कष्ट थियो, यस्तो अवस्थामा युवाले आफैँ स्रोत जुटाएर अस्पतालकै शैयामा घरकै खानाको आभास दिलाउने स्वस्थकर खाना खुवाउनुभयो’, उनले भने । अस्पतालले बिरामीलाई गरेको मित्रवत् व्यवहार र रामपुर युवा क्लबले खाना खुवाएर बिरामीलाई छिटो निको हुन हौसला बढाएको विकले बताए ।

त्यस्तै रामपुर – ६ मैदानबारीका माधव पङ्गेनीले गत असार १० गतेदेखि २४ गतेसम्म अस्पतालको आइसोलेशन कक्षमा रहँदा पारिवारिक वातावरणमै बसेको अनुभूति भएको बताए । युवाले गरेको यस उदाहरणीय कार्यमा उनले आफू कोभिड निको भएपछि अभियानलाई निरन्तरता दिन एक हजार ५ सय रकम युवाक्लबलाई हस्तान्तरण पनि गरेका छन् । सामाजिक भावना राखेर क्लबमा आवद्ध युवाले गरेको कार्यले अस्पतालमा उपचाररत बिरामी, कुरुवालाई राहत पुगेको बिरामीका आफन्त दुर्गाप्रसाद भट्टराई बताउन्छन् ।

दैनिक बिहान साँझ पाँचदेखि सात जनासम्म युवा मिलेर खाना बनाउने, अस्पतालमा लिएर जाने काम गरिरहेको ट्राभल डेन्टिस्टरी नेपालका अध्यक्ष एवं होराइजन डेण्टल क्लिनिकका सञ्चालक डा. शङ्कर श्रेष्ठले बताए । ‘हामी दैनिक फरकफरक तरकारी, फलफूल, मासु, दालको व्यवस्थापन मिलाएका छौँ, अस्पतालमा बिरामी थपघटसँगै खाना खानेको थपघट हुन्छ, कसैले मासु खाने/नखाने हुनुहुन्छ हरेक दिन बिहान साँझ आइसोलेशनमा डा. सँग बुझेर मात्रै खानाको तयारी गरी अस्पताल पुर्‍याउने गरेका छौँ’, उनले भने । युवाले गरेको यस सामाजिक कार्यले अहिले यस क्षेत्रसहित विदेशमा रहेका युवाले पनि सहयोगी हात अगाडि बढाइरहेका छन् । विभिन्न क्षेत्रबाट सहयोग रकम जुटेकाले पनि युवालाई यो काममा उत्साह थपेको छ । अस्पतालको कोभिड वार्डभित्र एक जना र आकस्मिक कक्षमा उपचारमा आउँदा चार बिरामीको मृत्यु भएको आइसोलेशनका स्थानीय स्रोत व्यक्ति डा.वासुदेव सुवेदीले जानकारी दिए । अस्पतालमा उपचाररत कोरोनाका बिरामीको अवस्था सामान्य रहेको र धेरै बिरामी निको भएर घर फर्किएको उनले जानकारी दिए । आइसोलेशन कक्षमा चिकित्सक, नर्स सहित अन्य स्वास्थ्यकर्मी सुरक्षागार्ड गरी दैनिक पाँच/छ रेखदेखमा अस्पतालले व्यवस्था मिलाएको छ भने बिरामी र कुरुवा पनि रहने व्यवस्था छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.विजय परियारले अप्ठ्यारो परेका अवस्थामा क्लवले खानाको व्यवस्थापन गरी उदाहरणीय काम गरेको बताए । क्लबले हालसम्म करीब दुई हजार ५ सय भन्दाबढी बिरामी , कुरुवा, उपचारमा संलग्न चिकित्सक र सुरक्षाकर्मीलाई खाना वितरण गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update