Shittalpati
पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु

पाल्पा, जिल्लामा एकै दिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसन र अस्पतालमा उपचार गराएका संक्रमितको बिहीबार मृत्यु भएको हो । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेका दुई जना र होम आइसोलेसनमा चार जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।
मिसन अस्पतालमा उपचार गराइरहेका तानसेन नगरपालिका–४ लहरेपिपलका ४४ वर्षीय पुरुष र गुल्मी छत्रकोट गाउँपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै बगनासकाली गाउँपालिका–६ यम्घा लाम्दीका ७५ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको छ । मिसन अस्पतालमा उपचार गरेर बुधबार घर फर्किएका उनको अचानक मृत्यु भएको जनाइएको छ । मृतक पुरुष दमको बिरामी थिए । पूर्वखोला गाउँपालिका–२, जल्पाका ४० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । केही समय अघि भारतबाट आएर घरमा बसेका उनको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो । माथागढी गाउँपालिका–३ कसेनीकी ५८ वर्षीया महिलाको पनि बिहीबार मृत्यु भएको छ । अस्पतालहरुमा बेड नपाएपछि गाउँपालिकाले बनाएको कोरोना अस्थायी अस्पतालमा लगेको र अक्सिजन लेबल घटेपछि घर ल्याउने क्रममा मृत्यु भएको जनाइएको छ । माथागढी–२ रुप्सेकी ४० वर्षीया कोरोना संक्रमित महिलाको बिहीबार मृत्यु भएको छ । होम आइसोलेसनमै बसेकी उनको मृत्यु भएको हो । मृतक महिला दमले ग्रसित रहेको बुझिएको छ ।योसँगै जिल्लामा कोरोनाका कारण ज्यान जानेको संख्या ६० पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update