Shittalpati
परिवार नियोजनको क्षेत्रमा काम गर्ने व्यक्ति र कर्मचारी सम्मानित

पाल्पा, नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले परिवार नियोजनको क्षेत्रमा काम गर्ने व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । संघले १९ औं साधारण सभाको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । शाखामा विगतमा स्वयंसेवक भएर कार्य समितिमा काम गर्ने पूर्व उपसभापति चिरञ्जीवी शर्मा ढुंगाना, पूर्व सचिव राजेश्वर उदय, सल्लाहकार तथा पूर्व उपसभापति चित्रवली राम सुवाल, सदस्य गंगा पौडेल लगायतलाई संघले सम्मान गरेको छ ।

उनीहरुलाई शाखा सभापति सुधीरप्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघका केन्द्रीय युवा संयोजक माला न्यौपाने, वडा ६ का वडाध्यक्ष सागरमान महर्जनले दोसल्ला, सम्मान पत्रले सम्मान गरे । त्यस्तै संघले कोरोना महामारीका बेलामा समेत निडरतापूर्वक कार्यालय सञ्चालन गर्ने शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, डा. राकेशलाल बज्राचार्य, लेखापाल सोमबहादुर आले, सिनियर स्टाफनर्स चाँदनी श्रेष्ठ, सिअहेव रोमी श्रेष्ठ, स्टाफनर्स हिरादेवी राना, सिअनमी सरस्वती पन्थी, ल्याब असिष्टेण्ट महेन्द्रप्रसाद पृथी, फिल्ड सुपरभाइजर लेखनाथ ढकाल, प्रमोटर यामबहादुर कार्की, एम्बुलेन्स चालक नारायण जीसी, कार्यालय सहायक बलराम सूर्यवंशी, चौकीदार गिरबहादुर सिंजाली, क्लिनिक सहायक मञ्जु सोमैलाई पनि सम्मान गरेको छ । उनीहरुलाई सम्मान गर्दै नेपाल परिवार नियोजन संघका केन्द्रीय युवा संयोजक माला न्यौपाने आगामी दिनमा अझ सशक्त रुपमा काम गर्न आग्रह गरिन् ।

नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति वुद्धीप्रसाद शर्माले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा परिवार नियोजन संघको कार्य महत्वपूर्ण रहेको बताए । संघका सभापति सुधीरप्रसाद श्रेष्ठले शाखाबाट सन् २०२० का वार्षिक कार्यक्रमहरु सम्पादनको शुरुवातमै विश्वव्यापी महामारी जन्य संक्रमण कोभिड १९ को कारणले सेवाको निरन्तरतामा चुनौती भएको बताए । उनले शाखाका नियमित सेवाहरु भने सञ्चालन गरिएको बताए । सरकारको स्वास्थ्य सेवामा समपूरकको भूमिका निर्वाह गर्दै आइरहेको शाखा उपसभापति ज्योति राजभण्डारीले बताइन् । शाखाले एच.आई. भी.र एड्स सम्बन्धी भेदभाव र लाञ्छना हटाउन तथा संक्रमितहरुको पहुँच र क्षमता विस्तारका लागि घर तथा समुदायमा आधारित स्याहार कार्यक्रम सञ्चालन गरेको शाखा सचिव सुशीलराज शाक्यले बताए । शाखाका स्वयंसेवक युवा सदस्य तथा कर्मचारी साथीहरुको सक्रियता र पाकार्ड फाउन्डेसन परियोजनाको सहयोगमा लाञ्छना नामक भिडियो फिल्म तयार पारि युट्युव च्यानलमा प्रसारण गरि हजारौं लाभग्राही समक्ष यौन तथा प्रजनन् स्वास्थ्य सेवामा हुने भेदभाव र लाञ्छना न्यूनिकरणका लागि सन्देश दिएको शाखा प्रबन्धक सोवा कान्त न्यौपानेले जानकारी गराए । कार्यक्रममा वडाध्यक्ष महर्जन, सम्मानित व्यक्तिहरु पूर्व उपसभापति चिरञ्जीवी शर्मा ढुंगाना, पूर्व सचिव राजेश्वर उदय, सल्लाहकार तथा पूर्व उपसभापति चित्रवली राम सुवाल, कार्य समिति सदस्य गंगा पौडेल, युवा संयोजक मिलन खड्का लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सचिव सुशीलराज शाक्यले वार्षिक प्रतिवेदन र कार्य समिति सदस्य माधव अर्यालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update