Shittalpati
पाल्पामा तानसेनका ५ जना सहित थप ७ जनामा कोरोना पुष्टि

पाल्पा, पाल्पामा पछिल्लो दुई दिनमा तानसेनका ५ जना सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत चैत २१ गतेदेखि चैत २३ गतेसम्म गरिएको परीक्षणमा १ जना पुरुष र ६ जना महिला गरी ७ जनामा कोरोना पुष्टि भएको छ । ८८ जनाको पिसिआर परीक्षण गरिएकोमा ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ५ जना,पूर्वखोला गाउँपालिकाका १ जना र बगनासकाली गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १ हजार ९ सय ९५ पुगेको छ । जसमा ५ सय ७६ जना महिला र एक हजार ४ सय १९ जना पुरुष रहेका छन् ।

हालसम्म माथागढी गाउँपालिकामा एक सय ६ जना, रामपुर नगरपालिकामा २ सय ६८ जना, पूर्वखोला गाउँपालिकामा २ सय ६६ जना, रैनादेवी छहरा गाउँपालिकामा एक सय १२ जना, रम्भा गाउँपालिकामा ९४ जना, बगनासकाली गाउँपालिकामा एक सय ५५ जना, तिनाउ गाउँपालिकामा ७५ जना, रिब्दीकोट गाउँपालिकामा ७७ जना, निस्दी गाउँपालिकामा एक सय १८ जना र तानसेन नगरपालिकामा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै पछिल्लो दुई दिनमा १० जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ४४ पुगेको छ । अहिलेसम्म जिल्लामा १४ हजार ७ सय ४५ जनाको पिसीआर परीक्षण गरिएको छ । जसमा १२ हजार ७ सय ५० जनामा नेगेटिभ र एक हजार ९ सय ९५ जनामा पोजेटिभ देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ३७ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या १४ छ । जिल्लामा अहिलेसम्म १ हजार १ सय ८३ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update