Shittalpati
३ लाख ४८ हजार डोज खोप आइपुग्यो

पाल्पा, नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कोभिड–१९ विरुद्धको ३ लाख ४८ हजार डोजको खोप आइपुगेको छ । आइतबार टर्किस एयरलाइन्सको विमानमार्फत खोप नेपाल ल्याइएको हो ।

विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय संस्था तथा निजी क्षेत्रको सहयोगमा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र विश्वस्वास्थ्य संगठनको समन्वयमा कोभ्याक्स सुविधाको खोप नेपाल सरकारलाई प्राप्त भएको छ । कोभ्याक्सले नेपाललाई प्रदान गर्ने १९ लाख २० हजार खोपमध्ये पहिलो चरणमा तीन लाख ४८ हजार मात्रा प्राप्त भएको हो ।

उक्त खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो । सरकारले दोस्रो चरणको खोप अभियानका क्रममा आइतबारबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिएको छ । कोभ्याक्स सुविधाका लागि अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेबिया, स्विट्जरल्याण्ड, बेलायत, अमेरिका तथा युरोपेली आयोगका साथै विभिन्न सामाजिक संस्था तथा व्यापारिक प्रतिष्ठानहरूले सहयोग गरेका छन् ।

 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update