Shittalpati
पाल्पामा दोस्रो प्राथमिकताको खोप ७१ स्थानबाट

पाल्पा, कोरोना विरुद्धको खोप अभियान अन्तर्गत फागुन २३ गते (आज)देखि जिल्लामा ७१ स्थानबाट खोप लगाइदै छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका प्रमुख विश्व विश्वनाथ न्यौपानेका अनुसार दोस्रो प्राथमिकतामा परेका पहिलो चरणका जेष्ठ नागरिकहरुलाई आजदेखि खोप लगाउन थालिएको हो ।

जिल्लामा एक हजार ८ सय ९ भ्याक्सिन भाइल प्राप्त भइसकेको छ । स्वास्थ्य कार्यालयले दोस्रो प्राथमिकताको पहिलो चरणमा परेका ६५ वर्षभन्दा माथिका १६ हजार ४ सय ४५ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । अभियान फागुन २३ गतेदेखि चैत २ गतेसम्म सञ्चालन हुने छ । खोप अभियानमा ४ सय ५२ स्वास्थ्यकर्मी परिचालन हुने छन् । जसमध्ये २ सय १६ जना स्वास्थ्यकर्मी र २ सय ३६ जना स्वास्थ्य स्वयंसेवक खटिने छन् । अभियानका क्रममा ६५ वर्ष माथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपक्तिमा खटिनेलाई पनि खोप लगाइने छ । दोस्रो चरणको खोप अभियानलाई सम्पन्न गर्नका लागि पालिकास्तरीय र वडास्तरीय खोप समन्वय समितिलाई सक्रिय बनाइएको छ । खोपका लागि उमेर पुगेको परिचयपत्र अनिवार्य मागिने छ । पहिलो चरणमा जिल्लामा पाँच हजार ३ सय ६२ जनाले खोप लगाएका थिए । पहिलो चरणको पहिलो समूहका ९३ प्रतिशतले खोप लगाएका थिए । भारत सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन थालिएको हो ।

पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपक्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो भने यस अघि यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाइएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update