Shittalpati
गुल्मी इस्माका वडामा स्वास्थ्य चौकीको उद्घाटन

रमेश विश्वकार्मा
गुल्मी, जिल्लाको इस्मा गाउँपालिकाका दुई वडामा एकै दिन स्वास्थ चौकीको उद्घाटन गरिएको छ । सोमबार गाउँपालिकाको वडा नं. ३ मा रहेको दर्लामचौर स्वास्थ्य चौकी र वडा नं. ४ मा रहेको दोहली स्वास्थ्य चौकीको उद्घाटन गरिएको हो । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा पूर्व मन्त्री गोकर्णराज विष्टले एक कार्यक्रमका बीच उक्त स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् ।
स्वास्थ्यचौकीको उद्घाटन गर्दै पूर्व मन्त्री विष्टले यस क्षेत्रका जनतालाई सहज रुपमा स्वास्थ्योपचार गर्न सहज हुने बताए । उनले जनताको समस्या समाधान गर्न आफू निरन्तर तयार रहेको बताएका छन् । संसद विघटनको विरुद्धमा बोल्दै पूर्व मन्त्री विष्टले भने,‘संविधान विपरीत संसद् विघटन गरिएको छ । संसदलाई असंवैधानिक रुपमा जबर्जस्त गर्ने काम गरिएको छ ।’ उनले संविधान विपरीत काम गर्ने अधिकार नै नभएको भन्दै यो कार्यले देशमा संकट, अराजक सिर्जना गर्ने समेत बताए ।

देशलाई कुनै बाह्य शक्तिबाट चलाउन खोजिएको हो भने देश ठूलो दुर्घटनामा जान सक्ने समेत उनले बताए । ‘देश र जनताको अधिकार संरक्षण गर्ने काम हामी राजनीतिकर्मीहरुको हो’ पूर्व मन्त्री विष्टले भने । ‘यसरी हामीले नै देशलाई अस्थिरतातर्फ लैजान खोजे देश विकास निर्माणमा धेरै पछाडी पर्नेछ । संविधानमा पाँच वर्षसम्म कसैले पनि संसद विघटन गर्न नपाइने भनेर उल्लेख गरेको उनले बताए । संविधान र जनताको अधिकार रक्षा गर्न आफूले निरन्तर लाग्ने पूर्व मन्त्री विष्टले बताए ।
दर्लामचौर स्वास्थ्य चौकी निर्माणको लागि आर्थिक वर्ष २०७१/०७२ मा सम्झौता गरिएको थियो । काठमाडांै सिद्धबाबा जेभी कन्स्ट्रक्सनले २ करोड ३४ लाख लागतमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा पाएको थियो । उक्त स्वास्थ्य चौकीको २०७६ पौष १३ गते निर्माण कार्य सकिएको थियो । त्यस्तै दोहली स्वास्थ्य चौकी निर्माणको लागि श्रेष्ठ कन्स्ट्रक्सनका निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले २०७५/०७६ मा सम्झौता गरेका थिए । उनले १ करोड ३१ लाख लागतमा असोज मसान्तमा निर्माण कार्य सम्पन्न गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update