Shittalpati
पाल्पामा १० जना कोरोना संक्रमित थपिए

पाल्पा, पाल्पामा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बिहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार ९ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय परीक्षण घटेसँगै संक्रमित हुनेको संख्या पनि घटेको छ । पछिल्लो ३ दिनमा विभिन्न प्रयोगशालामा गरिएको ५५ नमुना परीक्षण मध्ये १० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका,रिब्दीकोट गाउँपालिकाका एक/एक जना र तानसेन नगरपालिकाभित्रका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै पाल्पामा एक हजार ९ सय जना कोरोना संक्रमित पुगेका छन् । संक्रमितमध्ये एक हजार ८ सय १४ जना निको भएका छन् । अहिलेसम्म जिल्लाको माथागढी गाउँपालिकाका ९३ जना, रामपुर नगरपालिकाका २ सय ५७ जना, पूर्वखोला गाउँपालिकाका २ सय ५९ जना, रैनादेवी छहरा गाउँपालिकाका एक सय दुई जना, रम्भा गाउँपालिकाका ९० जना, बगनासकाली गाउँपालिकाका १ सय ३४ जना, तिनाउ गाउँपालिकाका ७१ जना, रिब्दीकोट गाउँपालिकाका ७१ जना, निस्दी गाउँपालिकाका १ सय १७ जना र तानसेन नगरपालिकाका ६ सय २० जना कोरोनामुक्त भएका हुन् । कोरोनाका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ५१ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार ९१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update