Shittalpati
पाल्पामा थप ३८ जनाले कोरोना जिते, २१ जनामा संक्रमण

पाल्पा, पाल्पामा थप ३८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत माघ ४ गतेदेखि माघ ७ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३८ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार बुधबार तानसेन नगरपालिका भित्रका २० जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढी गाउँपालिकाका ३ जना, रामपुर नगरपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका, रिब्दीकोट गाउँपालिकाका एक/एक जना र बगनासकाली गाउँपालिकाका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ८ सय ९० पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

अहिलेसम्म जिल्लाको माथागढी गाउँपालिकाका ९३ जना,रामपुर नगरपालिकाका २ सय ५७ जना, पूर्वखोला गाउँपालिकाका २ सय ५९ जना, रैनादेवी छहरा गाउँपालिकाका एक सय दुई जना, रम्भा गाउँपालिकाका ९० जना, बगनासकाली गाउँपालिकाका १ सय ३४ जना, तिनाउ गाउँपालिकाका ७१ जना,रिब्दीकोट गाउँपालिकाका ७१ जना, निस्दी गाउँपालिकाका १ सय १७ जना र तानसेन नगरपालिकाका ६ सय २० जना कोरोनामुक्त भएका छन् ।

यस्तै बुधबार पछिल्लो तीन दिनमा पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ पुरुष र ६ जना महिलामा संक्रमण देखिएको छ । तानसेन नगरपालिकाका ९ पुरुष र ३ महिला गरी १२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै माथागढी, रामपुर, रम्भा र निस्दीका एक/एक जना, बगनासकालीका ५ जनामा पनि संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ९० पुगेको छ ।

अहिलेसम्म जिल्लामा १२ हजार ९ सय ८३ जनाको पिसीआर परीक्षण गरिएको छ । जसमा ११ हजार ९३ जनामा नेगेटिभ र एक हजार ८ सय ९० जनामा पोजेटिभ देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार ८१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update