Shittalpati
कोरोना : विदेशमा ३ सय १९ नेपालीको निधन

काठमाडौं, कोभिड–१९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३ सय १९ को निधन भएको छ । संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा संक्रमण देखिएका मध्ये ५२ हजार ९ सय ४५ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९५ प्रतिशत हो । यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा संक्रमण देखिएको छ ।

यस्तै भाइरसका कारण नेपालमा एक हजार ९ सय ५४ जनाको निधन भएको छ । नेपालमा भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएको संघ, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए । ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोनाभाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोप प्रयोग गर्न सकिने भएको छ । उहाँका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसका विरूद्धमा प्रभावकारी हुने देखाएको हो ।

कूल परीक्षणमध्ये १०.५ मा संक्रमण

नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको भए पनि स्वास्थ्य साबधानी आवश्यक रहेको स्वास्थ समितिले जनाएको छ । हाल दैनिक भइरहेको कूल परीक्षण गरेकामध्ये कम्तीमा १०. ५ मा संक्रमण हुने गरेको र जोखिम कम नभएको उल्लेख गरेको छ । परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्याङ्क के हो भन्न नसकिने समितिले जनाइएको छ । समितिले मास्क, भौतिक दूरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ ।

आत्महत्या रोकथामसम्बन्धी भर्चुअल कार्यशाला

वैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थालेपछि संघअन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथामसम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ । हालसम्म यसकिसिमका तीन कार्याशाला सम्पन्न भइसकेको छ । मनरोग विशेषज्ञ डा. विजय ज्ञवाली र डा. रञ्जन थापाले सहभागीलाई प्रशिक्षण दिएकी थिइन । विशेषतः कार्यक्रममा मध्यपूर्व र मलेसियालगायत मुलुकका नेपालीले सहभागिता जनाएका थिए ।   –रासस

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update