Shittalpati
पाल्पाका थप २८ संक्रमितले कोरोना जिते

पाल्पा, पाल्पामा थप २८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत पुष २८ गतेदेखि माघ ३ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २८ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका भित्रका १७ जनाले कोरोना जितेका छन् । यस्तै माथागढी गाउँपालिकाका एक जना, रैनादेवी छहरा गाउँपालिकाका तीन जना, रम्भा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना र तिनाउ गाउँपालिकाका २ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ७ सय ७६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिलेसम्म जिल्लाको माथागढी गाउँपालिकाका ९० जना,रामपुर नगरपालिकाका २ सय ५३ जना, पूर्वखोला गाउँपालिकाका २ सय ५९ जना, रैनादेवी छहरा गाउँपालिकाका एक सय एक जना, रम्भा गाउँपालिकाका ९० जना, बगनासकाली गाउँपालिकाका १ सय २५ जना, तिनाउ गाउँपालिकाका ७१ जना, रिब्दीकोट गाउँपालिकाका ७० जना, निस्दी गाउँपालिकाका १ सय १७ जना र तानसेन नगरपालिकाका ६ सय जना कोरोनामुक्त भएका हुन् ।

यस्तै पछिल्लो पाँच दिनमा पाल्पामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ पुरुष र ५ जना महिलामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ६ जना, माथागढीका २ जना, तिनाउका २ जना र बगनासकालीका एक जनामा संक्रमण देखिएको छ । योसँगै पाल्पामा एक हजार ८ सय ६९ जना कोरोना संक्रमित पुगेका छन् । पाल्पामा कोरोनाका कारण ३३ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ६० पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार ६० जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update