Shittalpati
पाल्पामा कोरोनाबाट १९ जनाको मृत्यु, एक हजार ४ सय बढी संक्रमित

रामचन्द्र रायमाझी
पाल्पा । पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शुक्रबारसम्म १९ जनाको मृत्यु भएको छ । बिहीबार राती रामपुर नगरपालिका–५ की ५४ वर्षीय कोरोना संक्रमित महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

एलएमसीमा मृत्यु भएकी ती महिलालाई मधुमेह र उच्च रक्तचाप भए पछि कात्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोनाको लक्षण देखिएपछि डाक्टरहरुले स्वाब संकलन गरी प्रयोगशाला पठाएकोमा २० गते मात्र उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको अस्पतालमै उपचार गरिदै आइएकोमा बिहीबार राती मृत्यु भएको हो । जिल्लामा यसरी दैनिक जसो कोरोना संक्रमितको मृत्यु हुन थालेपछि समुदायमा त्रास फैलिएको छ । अहिलेसम्म जिल्लाका ७ स्थानीय तहका १९ जनाको कोरोनाबाट मृत्यु भएको हो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार तानसेन तथा तानसेन भित्रका अस्पतालमा ७ जना, माथागढीका २ जना, रामपुरका २ जना, पूर्वखोलाका ३ जना, बगनासकालीका ३, तिनाउका १ र रिब्दीकोटका १ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । १० स्थानीय तहमध्ये रैनादेवी छहरा, रम्भा र निस्दीमा भने कोरोनाको कारण मृत्यु भएको तथ्याड्ढ छैन ।

यस्तै पाल्पामा अहिलेसम्म १ हजार ४ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बिहीबार र शुक्रबार प्राप्त विवरण अनुसार २१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४ सय २४ पुगेको हो । स्वास्थ्य कार्यालयको शुक्रबार सम्मको तथ्याड्ढ अनुसार तानसेन तथा तानसेन भित्रका अस्पतालमा ४ सय १८ जना, निस्दीमा १ सय १६, रिब्दीकोटमा ५३, तिनाउमा ६३, बगनासकालीमा ९४, रम्भामा ७९, रैनादेवी छहरामा ६९, पूर्वखोलामा २ सय २१, रामपुरमा २ सय ३७ र माथागढीमा ७४ गरी १ हजार ४ सय २४ जनामा कोरोना संक्रमण भएको छ ।

जिल्लामा अहिलेसम्म एक हजार एक सय ५५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । तोकिएको मापदण्ड पूरा गरेर १४ दिन होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेकाहरुले कोरोनालाई जितेर घर फर्किएका हुन् । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय ५० पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ७ सय १४ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७३ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update