Shittalpati
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार पूर्वखोलाका ५ जना, रैनादेवी छहराका २ जना, तिनाउका १ जना र रामपुरका १ जनामा गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो । विहीबार थपिएका पूर्वखोलाका २ महिला र ३ पुरुषमध्ये २ जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रैनादेवी छहराका २ संक्रमित पुरुष भने सिजी सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ५० पुगेको छ ।

पाल्पामा अहिलेसम्म ७ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ७ सय ८२ जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ३ सय ४० जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ५७ जना स्वास्थ्यकर्मी रहेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update