Shittalpati
गुर्जाे सेवनप्रति सर्वसाधारणको आकर्षण, जडिबुटी खोज्न जंगल धाउँदै

कृष्ण पोखरेल
पाल्पा । कोभिड–१९ को संक्रमण बढेसँगै जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो । मुलुकमा दिनहुँ कोरोना सक्रमणको दर उच्च भईरहदा पाल्पामा भने रोग प्रतिरोधात्मक क्षमता बढाउने जडीबुटीको खोजीमा सर्वसाधारणहरु वनजंगल धाउन थालेका हुन् । जडीबुटीको प्रयोगबाट शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि भई कोरोना भाइरस विरुद्ध लड्न आन्तरिक शक्ति बढ्ने विश्वासमा पाल्पाका सर्वसाधारणहरु जडिबुटीको खोजीमा विभिन्न जंगलहरुमा धाउन थालेका छन् । शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने गुर्जाे (चिनीलहरा) जताततै सहज रुपमा पाइने भएकाले पाल्पामा सर्वसाधारणहरु समूह–समूह बनाएर वनजंगल धाउन थालेका हुन् ।

पाल्पाका अधिकांश क्षेत्रमा पाइने गुर्जो (चिनी लहरा) खोज्न दिनहुँ मानिसहरु वनजंगल धाउन थालेका छन् । तानसेन बसन्तपुरका हरि रावल गुर्जो खोज्न रानीमहल क्षेत्रको जंगलमा पुग्छन् । कोरोना सक्रमणको जोखिम बढ्दै गएपछि रावलका परिवारले दिनहुँ चैत्र महिनादेखि गुर्जो साझ विहान चियाको रुपमा प्रयोग गर्दै आएको छ । अमृतको रुपमा चिनिएको गुर्जाे मानिसमा रोगप्रतिरोधात्मक क्षमता बढाउने, रुखा खोकी ज्वरो, बात, पित्त, कप तथा युरिक एसिड विरुद्ध रामवाण औषधी भएकाले पछिल्लो समय कोरोना सक्रमणबाट बच्च सर्वसाधारणहरुले गुर्जाेको सेवन बढाएका हुन् । गुर्जोको विभिन्न थरीको नामबाट सर्वसाधारणहरुले चिन्ने गरेका छन् । कसैले अमृता, कसैले चिनीलहरा, कसैले गुर्जाे र हिन्दीमा गिलोईको नामबाट चिन्दछन् । तानसेन कैलाशनगरका सुरेशप्रसाद श्रेष्ठ कोरोनाको जोखिम बढ्दै गएपछि रानीमहल क्षेत्रबाट पटक–पटक गुर्जोको लहरो ल्याउने गरेका छन् । श्रेष्ठले साथीभाईको समूह लिएर रानीमहल क्षेत्रमा गुर्जाेको लहरो खोज्न जाने गरेको बताए । लामो समयदेखि गुर्जो सेवन गरेकाले परिवारमा रुघाखोकी ज्वरो, वाथ, पित्त, युरिक एसिड, जोर्नी, घुडा दुख्ने जस्ता कुनै समस्या नभएको श्रेष्ठले भनाई छ ।

कोरोना संक्रमणको लक्षण रुखाखोकी उच्च ज्वरो हात खुट्टा दुख्ने भएकाले गुर्जोको नियमित सेवनले कोरोना सक्रमणलाई रोक्ने र संक्रमितलाई चाडो निको बनाउने गुण रहेकाले यसको प्रयोग दिनहुँ बढ्दै गएको जिल्ला पतञ्जली योग समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले दावी गरे । कोरोना सक्रमण जोखिम बढ्दै गएपछि अधिकांश व्यक्तिहरु श्रेष्ठको घरमा गुर्जाे माग्न पुग्ने गरेका छन् । श्रेष्ठले बुधबार नै रानीमहल जंगलमा पुगेर करीव ५ किलो गुर्जाे खोजेर ल्याए । श्रेष्ठले घरमा आउने सर्वासाधारणलाई गुर्जाेको लहरो देखाएर चिनाउने, प्रयोग गर्दा हुने फाइदाको बारेमा जानकारी गराउने, प्रयोगको विधी सिकाउने, घर–घरमा गुर्जाे रोपण गर्न अनुरोध गर्दै आएका छन् । तानसेन बसन्तपुरकै कमल थापा पनि रानीमहल क्षेत्रको जंगलमा गुर्जाेको लहरो खोज्दै गरेको अवस्थामा भेटिए ।

कोरोना सक्रमणको जोखिम बढेसंगै थापाले चैत्रदेखि ३ पटक वनजंगलबाट गुर्जाे ल्याए । एक पटकमा दुई तिन किलो ल्याएपनि छरछिमेक साथीभाईलाई बाढ्दा बाढ्दै सकिने गरेकाले पुनः जंगल आएको थापाले बताए । बजारमा गुर्जाे सय ग्रामको दुईसय रुपैयाँ पर्छ । जंगलमा ताजा र सित्तैमा पाईन्छ । गुर्जाेको सेवनले शरीरमा पावर बढाउने, रुघाखोकी लाग्न नदिने, ज्वरो आउनबाट रोक्ने जस्ता गुण रहेकाले शरीरमा कोरोना भाइरससँग लड्ने क्षमता बलियो बनाउने भएकाले गुर्जाे खोज्न जंगल आएको थापाले बताए । तानसेन शित्तलपाटीका राजेन्द्रगोपाल सिंहले पनि नियमित रुपमा गुर्जोलाई पकाएर विहान चियाको रुपमा खाने गरेका छन् । गुर्जोको सेवनले आफुलाई फाइदा पुगेको सिंहले बताए ।

आयुर्वेदिक स्वास्थ्य केन्द्रमा परामर्श लिन आउने बढे

रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कोराना भाइरसले छिटो सक्रमण गर्ने भएकाले पाल्पामा पछिल्लो समय जडिबुटी सेवनको प्रयोग अत्याधिक बढेको छ । कोरोना सक्रमण नहोस् भनी स्वास्थ्य परामर्श लिन आउनेको संख्या दिनहुँ बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र पाल्पाले जनाएको छ । चैत्र ११ अघि दैनिक १० जनासम्म विरामी आउने गरेकोमा लकडाउनसँगै विरामीहरुको संख्यामा पनि वृद्धि भएको छ । अहिले औसत रुपमा हाल दैनिक ३० जनासम्म विरामी स्वास्थ्य परामर्शको लागि आउने गरेको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रकी प्रमुख डा.सभ्यता पन्थीले बताइन् । लकडाउन पछि आउने अधिकांश विरामी कोरोना संक्रमणको विषयमा केन्द्रित गरेर आउने गरेको उनले जानकारी दिइन् । बिरामीलाई कोरोना संक्रमण नहोस् भनी रोगप्रतिरोधात्मक क्षमता बढाउने गुर्जाे, अमला, अश्वगन्धा, तुलसी, बेसारपानी लगायतका जडिबुटी सेवनका लागि परामर्श दिदै आएको डा.सभ्यताले बताइन् ।

पाल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्रकी प्रमुख डा.सभ्यता पन्थी ।

 

केन्द्रमा आउने विरामीहरुलाई कार्यालयले अश्वगन्धा र अमला निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको छ । हामीले अस्पतालमा आउने विरामी तथा सर्वसाधारणहरुलाई कार्यालय परिसरमा रहेको गुर्जाेको बोट (लहरो) नै देखाउने र उनीहरुलाई चिनी बिनाको गुर्जाेको चिया खुवाएर स्वाद चखाउने काम गर्दै आएको कार्यालय प्रमुख पन्थीले बताइन् । कोरोना रोगको परामर्श तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीको बारेमा सुझावा सल्लाह लिनेको संख्या दिनहुँ बढ्दै गएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update