Shittalpati
पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

पाल्पा, पाल्पामा कोरोना संक्रमित थप एक व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको हो । उनलाई चार दिनअघि कोरोना पुष्टि भएपछि तानसेन स्थित वृद्धाश्रममा निर्माण गरिएको आइसोलेसनमा सेन्टरमा राखेर उपचार गरिएको थियो । कलेजोमा समस्या देखिएपछि उनलाई भदौ २१ गतेदेखि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

उनमा कोरोना भाइरसको लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि भैरहवा पठाएको थियो । चार दिनअघि उनमा कोरोना पुष्टि भएको हो । उनलाई थप समस्या देखिएपछि उपचारका लागि बुटवलको धागो कारखानास्थित कोभिड अस्पतालमा पठाइएको मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराईले बताए । बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा भर्ना नलिएपछि मंगलबार उनलाई पुनः तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको थियो । अहिले उनको शवलाई व्यवस्थापन गर्ने तयारी भइरहेको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस अघि पूर्वखोलाका एक जना पुरुष र तानसेनकी एक महिलाको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update