Shittalpati
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै,  एकै दिन चार जनाको मृत्यु भएको पुष्टि

पाल्पा । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । एकै दिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा थप चारको मृत्यु भएको पुष्टि गरेका हुन् । उनका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुई, बाँके एक र पर्सामा एक जना रहेका छन् । काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको छ ।

निमोनिया र मधुमेहका विरामी उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो र, उनको सोमबार विहान निधन भएको हो । यसैगरी वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार मृत्यु भएकी वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । यस्तै सोमबार थप ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ, भने १६ हजार ४ सय ९३ जना निको भइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update