Shittalpati
पाल्पामा थप एक जनामा कोरोना पुष्टि

पाल्पा । जिल्लामा देखिएका सबै संक्रिमत डिस्चार्ज भएको केही दिनमै थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रम्भा गाउँपालिकाका ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका पुरुष दुई हप्ता अघि भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

केही दिन अघि गाउँपालिकाले अग्रभागमा रहेर काम गर्दै आएका २४ जना कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र १४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएकोमा एक जनाको पोजेटिभ आएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए । संक्रमण देखिएका उनलाई अहिले रम्भा माविको क्वारेन्टाइनमा राखिएको छ । आइतबार निस्दी गाउँपालिकाका ९५ जना, तानसेन नगरपालिकाका १९ जना र बगनासकाली गाउँपालिकाका १ जनाको पनि पिसिआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका उनीहरुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । थप एक जनामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ६२ पुगेको छ । ५ सय ६० जना डिस्चार्ज भएका छन् । एक जनाको भने मृत्यु भएको छ । संक्रमित मध्ये ५ सय १६ जना पुरुष र ४६ जना महिला रहेका छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update