Shittalpati
तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने भएको छ । गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी युक्त गाउँपालिका बनाउने अभियान अन्तर्गत वडा २ दोभान स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रसुतिगृह यसै वर्षदेखि सञ्चालनमा आउने भएको हो ।

गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीम गरले यसै आर्थिक वर्ष भित्र प्रसुतिगृह सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । उनले स्वास्थ्यचौकी तथा स्वास्थ्य इकाईहरुको वार्षिक समीक्षामा बोल्दै गाउँपालिकाका सबै स्वास्थ्यचौकीहरुलाई सुविधा सम्पन्न बनाउने अभियानमा आफुहरु रहेको जानकारी गराए । गाउँपालिकामा स्वास्थ्य इकाई केन्द्रहरु सञ्चालनमा ल्याएपछि नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्न सहज हुने गरेको गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले बताइन् । उनले गाउँपालिकालाई स्वास्थ्यगत सुत्केरीयुक्त गाउँपालिका घोषणा गर्नका लागि काम गरिरहेको र सोकै लागि दोभान स्वास्थ्य चौकीमा सुविधा सम्पन्न बर्थिङ सेन्टर यसै आर्थिक वर्षबाट सञ्चालन गर्ने जानकारी गराइन् । तिनाउमा विभिन्न वडा तथा गाउँहरुमा सञ्चालनमा रहेका ४ स्वास्थ्य चौकी तथा ८ सामुदायिक स्वास्थ्य इकाईका उपलब्धि तथा गतिविधि बारे जानकारी गराउँदै गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख कृष्ण कार्कीले स्वास्थ्य सुविधा तथा सचेतनामा सकारात्मक परिवर्तन पाइएको उल्लेख गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, वडा अध्यक्ष, जिल्ला स्वास्थ्य कार्यालयका प्रभास पन्थी, ओमप्रकाश पन्थी, सुआहाराका फिल्ड सुपरभाइजर दिनेश घिमिरे, किड्स नेपाल पाल्पाका सुवास दवाडी, सबै स्वास्थ्य संस्थाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update