Shittalpati
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि, मृतकको संख्या ६५ पुग्यो

पाल्पा । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार मात्र पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको थियो । बिहीबारको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको जनाइएको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक मोरङमा दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक÷एक जना गरी पाँच जना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला रंगेली नगरपालिका ८ दर्वेशा बस्ने ४५ वर्षीय पुरुष रहेका छन् । उनलाई साउन २१ गते ज्वरो तथा स्वासप्रश्वासमा समस्या भइ कोसी अस्पताल ल्याउँदा मृत्यु भएको थियो । सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ बस्ने ६५ वर्षीया महिलाको साउन २१ गते मृत्यु भएको हो ।

उनको उपचारको क्रममा बलम्बु सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी मोरङकै विराटनगर महानगरपालिका ९ बस्ने ४५ वर्षीय एक पुरुषको साउन २१ गते कोसी अस्पतालमा मृत्यु भएको हो । उनी मिर्गौला तथा मधुमेहका दीर्घरोगी रहेका थिए । मृतकमा धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढ बस्ने ७२ वर्षीया महिलाको साउन १७ गते ओम अस्पताल तथा रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको पनि जाँच गर्दा कोरोना पुष्टि भएको छ । सप्तरी जिल्ला रुपनी नगरपालिका ५ बस्ने ४२ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको छ । ज्वरो तथा स्वासप्रश्वासमा कठिनाइ भइ साउन २० गते उनी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज भर्ना भएका थिए । थप उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपाल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १५ हजार तीन सय ८९ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update