Shittalpati
रामपुरमा खिर खाएर विरामी हुनेको संख्या थपिदै, विरामी मध्ये दुई जना गम्भीर

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको रामपुर नगरपालिका ७ मा खिर खाएर विरामी हुनेहरुको संख्या थपिदै गएको छ । मृत्यु संस्कारमा खिर खाएका मध्ये मंगलबार २९ जना विरामी भएकोमा बुधबार साँझसम्ममा विरामीको संख्या थपिएर ७५ पुगेको छ । विरामी मध्ये ५८ जनाको लुम्बिनी मेडिकल कलेज प्रवास (एलएमसी) र १७ जनाको रामपुर अस्पतालमा उपचार भएको छ । रामपुर ७ मोहटीस्थित मृत्यु संस्कारमा सहभागी भएकाहरु विरामी भएको रामपुर अस्पतालले जनाएको छ । सय जनाभन्दा धेरैले खिर खाएको हुनसक्ने र बिरामी निरन्तर थपिदै गएको रामपुर अस्पतालले जनाएको छ । उनीहरुले आईतबार खिर खाएपनि सोमबार मात्र बिरामी भएर अस्पताल आएपछि घटना बाहिर आएको हो । मंगलबार रामपुर अस्पतालबाट ३८ जनाको एलएमसीमा रिफर गरिएको थियो । एलएमसीमा बुधबारसम्ममा ५८ जनाको उपचार भएको र उपचार मध्ये १० जना निको भएर घर फर्किएको अस्पतालका अध्यक्ष गोपाल पोखरेलले बताए । उनका अनुसार दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको सामन्य रहेको छ । १७ जनाको भने रामपुर अस्पतालमा उपचार भइरहेको अस्पतालका फार्मेसी निरीक्षक रामप्रसाद कोइरालाले बताए । बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, वान्ता हुने टाउको दुख्ने लगायतको समस्या देखिएको सम्बन्धित अस्पतालहरुले जनाएका छन् । विरामीहरुको संख्या अझ थपिदै जान सक्ने देखिएको छ ।

आइतबार मोहोटी टोलमा पितृप्रसाद ग्रहण गरेकाहरु सोमबारदेखि बिरामी हुन थालेका हुन् । स्थानीय मनबहादुर विकको १३ औं दिनको पुण्यतिथीमा उनका आफन्त, छिमेकी, मलामी घोतारीहरुले प्रसाद ग्रहण गरेका थिए । उनीहरुले प्रसादको रुपमा खिर, अचार र राज्माको तरकारी खाएका थिए । सुरुमा ६ जनामा टाउको दुख्ने, रिंगटा लाग्ने, पखाला लाग्ने जस्ता लक्षण देखिएपछि उनीहरु रामपुर अस्पताल भर्ना भएका थिए । विरामी हुनेहरु सबै वडा ७ को मोहोटी र कथान क्षेत्रका रहेका छन् । बिरामी सबैमा एकै किसिमको लक्षण देखिएको छ । उपचाररत विरामी मध्येका एक विरामीले सुरुमा टाउको दुख्ने र पछि झाडा पखाला, रिंगटा लाग्ने जस्ता लक्षणहरु देखिएको बताएका छन् । रामपुर अस्पतालका डाक्टर कुशल खनालले व्याक्टेरियाको कारण समस्या देखिएको र त्यसका बारेमा थप अनुसन्धान भइरहेको बताए । प्रसाद ग्रहणमा आफन्त, छिमेकी, मलामी गरी एक सय भन्दा धेरै सहभागी भएको बुझिएको छ । भात, तरकारी र अचार खानेहरुमा कुनै समस्या देखिएको छैन । स्वर्गीय मनबहादुर विकका नाती मनिस सुनारले पसलबाट लगेको दूधले खिर बनाएका थिए ।

स्वास्थ्य अवस्था बुझ्न सिडिओ अस्पताल

खिर खाएर विरामी भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित सुरक्षा निकायका प्रमुखहरुको टोली अस्पताल पुगेको छ । लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार गराई रहेका विरामीहरुको अवस्था बुझन् प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने,जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक दिपकराज खरेल लगायतको सुरक्षा टोली अस्पताल पुगेको हो । टोलीले विरामीहरुको उपचारको अवस्था र स्वास्थ्य स्थितिको सम्वन्धमा जानकारी लिएको छ । उपचारमा कुनै पनि कमी हुन नदिन प्रजिअ न्यौपानेले अस्पताललाई आग्रह गरेका छन् । अस्पतालका अध्यक्ष गोपाल पोखरेलले विरामीको आवश्यक उपचारमा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता जनाएका छन् । उपचारमा संलग्न डाक्टरहरुले व्याक्टेरियाका कारण समस्या देखिएको भनिए पनि ल्याव परीक्षणको रिपोर्ट भने अझै आइनसकेको अस्पतालले जनाएको छ ।

लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार गराई रहेका विरामीहरुको अवस्था बुझ्दै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने सहित सुरक्षा निकायका प्रमुखहरु ।

 

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update