Shittalpati
क्वारेन्टाइन र आईसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री

इमान सिं राना

पाल्पा(रामपुर) । भारत लगायत तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइन र आइसोलेशनमा रहेकाहरुको लागि युथ युनियन मटेरी रामपुरले स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लवले ट्राभल डेन्टिष्ट्री नेपालको सहयोगमा ह्याण्ड वास, माक्स, स्यानिटाईजर, ब्रस, टुथपेस्ट लगाएतका सामग्रीहरु दिएको हो । रामपुर ५ मटेरीमा एक कार्यक्रम गरी क्लवका अध्यक्ष अमिर रानाले रामपुर नगरपालिका ५ का वडा अध्यक्ष एवं क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक हिमाल मल्ल, ४ का वडा अध्यक्ष एक बहादुर नेपालीलाई सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९ र १० का क्वारेन्टाइन र आइसोलेशनमा रहेका २ सय २० जनाको लागि वडा नं. ४ र ५ का वडा सदस्यहरुको रहोवरमा सामग्री प्रदान गरेको थियो । सामग्री ग्रहण गर्दै रामपुर नगरपालिका ५ का वडा अध्यक्ष मल्लले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको अवस्थामा क्लवले गरेको सहयोग प्रति धन्यवाद दिए ।

उनले भने, ‘क्वारेन्टाईनमा रहेका नागरिकहरुले पैसा भएर पनि आवश्यक सामग्री किन्न सक्ने वातावरण छैन । किन की उनीहरुले छोएको पैसा पनि प्रायले लिन मुस्किल मान्छन् । यो अवस्थामा व्यक्तिगत स्वास्थ्यको लागि क्लवले गरेको सहयोग अति महत्वपूर्ण हुनेछ ।’ ४ का वडा अध्यक्ष एक बहादुर नेपालीले युवाहरुलाई सामाजिक रुपान्तरण तर्फ लैजान क्लवले खेलेको भूमिकाको प्रशंसा गरे । उनले भने, ‘विगतमा विद्यार्थीहरुको लागि स्टेशनरी, न्यानो कपडा वितरण संगै लकडाउनको समयमा पनि क्लवले स्वयमसेवकको रुपमा महत्वपूर्ण भूमिका खेलेको छ ।’

उनले समाजमा संख्यात्मक रुपमा क्लवहरुको संख्या अधिक रहे पनि क्रियाशिल क्लव भने न्यून रुपमा रहेको बताए । क्वलले चालेका कदमहरुमा आगामी दिनमा वडा तथा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । क्लवका सदस्य केशव श्रेष्ठले क्लवले अहिले सम्म सञ्चालन गरेका गतिविधिको बारेमा जानकारी दिएका थिए । क्लवका अध्यक्ष अमिर रानाले क्लवका पदाधिकारीहरु क्वारेन्टाइनसम्म नै पुगेर सामग्री पु¥याउने प्रयास गरे पनि वर्षादका कारण समस्या भएको बताए । मटेरी ठूलोटारमा भएको कार्यक्रम क्लवका अध्यक्ष अमिर रानाको अध्यक्षता, कोषध्यक्ष कमल रानाको स्वागत र सचिव दिपेन्द्र भट्टराईको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update