Shittalpati
गुल्मीमा जनप्रतिनिधि सहित दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या चार पुग्यो

गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिकामा जनप्रतिनिधि सहित २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।

कोरोना पुष्टि भएका दुई जना मध्ये एक जना जनप्रतिनिधि हुन् । अर्का एक जना भारतबाट धुर्कोट गाउँपालिकामा आएका व्यक्ति रहेको शर्माको भनाई छ । उनीहरु ३६ र ३७ बर्षका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयको भनाई छ । संक्रमित मध्ये एक जनाले आफ्नै एकान्तवासमा बसेर उपचार गर्ने र एक जनालाई सदरमुकाम तम्घास स्थित आइसुलेसनमा राखेर उपचार गरिने र त्यसका लागि छलफल भईरहेको शर्माको भनाई छ । जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख र फोकल पर्सन, जिल्ला प्रशासन कार्यालयका कर्मचारी लगायतको गरी अहिले ४४ जनाको स्वाब संकलन गरिएको बताईएको छ । स्वाबलाई प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षणका लागि पठाइने प्रक्रियामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि कोरोना संक्रमणबाट मृत्यु भएका जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकको सम्पर्कमा आएका एक जनामा पनि कोरोना परीक्षण पोजेटिभ आएपछि उनलाई सदरमुकाम तम्घासमा रहेको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update